गुल्मी, २४ असार ।
गुल्मीमा एच्.आइ.भी. संक्रमितहरुको लागि नियमित प्रदेशस्तरिय समन्वयात्मक बैठक सम्पन्न भएको छ । हाम्रो जिवन प्लस गुल्मीको आयोजना तथा एच्.आइ.भी. संक्रमितहरुको राष्ट्रिय महासंघ नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सदरमुकाम तम्घासमा आइतबार सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमृता देवी कुँवर, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, प्रहरी उपरीक्षक नविन किशोर प्रधान, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्य, गुल्मी अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी लगायत जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
दातृ निकायभन्दा पालिकासँग समन्यव गरेर संक्रमितहरुको पक्षमा काम गर्नुपर्ने, संक्रमितहरुलाई पालिसँग जोड्नुपर्ने, संक्रमित, उसका आफन्त एवम् साथिहरुलाई जनचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने कार्यक्रमको निष्कर्ष छ । कार्यक्रममा समन्वय समिति प्रमुख खत्रीले एच्.आइ.भी. संक्रमितहरुको आत्मबल बृद्धिका लागि सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । हाम्रो जिवन प्लसकी अध्यक्ष जुना ज्ञवालीले कतिपय संक्रमितहरु खुल्न चाहेपनि अधिकाशं संक्रमितहरु खुल्न नचाहेको बताइन् । ‘संक्रमित नखुल्दा पालिकासँग समन्वय गरी काम गर्न पनि अप्ठ्यारो भएको छ ।’ उनले भनिन्, ‘जनचेतना आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी केसीले संक्रमित मात्र नभई उसका आफन्त एवम् सिंगो समाजले पनि एच्.आइ.भी. ठुलो रोग नभई अन्यजस्तै सामान्य रोग भएको बिषय बुझाउनुपर्ने धारणा राखे । हाम्रो जिवन प्लस गुल्मीले ०६४ सालदेखि गुल्मीमा एच्.आई.भी. संक्रमितको पक्षमा संक्रमित बालबालिकालाई नगद सहयोग, संक्रमितहरुको लागि हेरचाह केन्द्र, जनचेतनामुलक कार्यक्रम, घर–समुदायमा आधारित हेरचाह लगायतका कार्यहरु गरेको छ ।
अहिले १२ वटै पालिकाका संक्रमितहरुले हाम्रो जिवन प्लसबाट सेवा पाएका छन् । गुल्मीमा एच्.आइ.भी.का १४७ पुरुष र १४८ महिला गरी कुल २९५ संक्रमित छन् । कार्यक्रम पुनाराम घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।