गुल्मी । धुर्कोट गाउँपालिकाले पाल्पाको रिब्दिकोट गाउँपालिकामा रहेका अकबरे खुर्सानी खेतीको अवलोकन भ्रमण गरेको छ। यो अवलोकनको उद्देश्य सफल कृषि अभ्यासबारे जानकारी लिनु, किसानहरूका चुनौती र अवसरहरूको अध्ययन गर्दै आफ्नै गाउँपालिकामा पनि त्यस्ता उत्पादनहरू विस्तार गर्ने योजना बनाउनु हो।
रिब्दिकोटमा किसानहरूले प्रति किलो २२० रुपैयाँमा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन्।
वार्षिक रूपमा ५ करोड रुपैयाँभन्दा बढीको खुर्सानी यस क्षेत्रबाट उत्पादन र वितरण भइरहेको छ, जसले ग्रामीण क्षेत्रको आयआर्जनमा ठूलो भूमिका खेलेको छ।
भ्रमणमा धुर्कोट गाउँपालिकाका प्रतिनिधिहरूले उत्पादन प्रक्रिया, किसानहरूको अनुभव, र संकलन केन्द्रको संचालन प्रणालीबारे प्रत्यक्ष जानकारी लिए।
यो अभियान रिब्दिकोटका निबर्तमान अध्यक्ष नारायण बहादुर जीसीले सुरु गरेका थिए, र अहिले पनि उनले संकलन केन्द्रको व्यवस्थापन गरिरहेका छन्। हालका अध्यक्ष नारायण बहादुर कार्कीले यस अभियानलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा विस्तार गरिरहेका छन्।
अवलोकनपछि धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल ले त्यहाँको सफलताबाट सिक्दै धुर्कोटमा पनि यस्ता व्यावसायिक खेतीको विस्तार गर्ने योजनाबारे छलफल गरेका छन्। उनीहरूले किसानहरूलाई आधुनिक प्रविधि र उचित बजारीकरणमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। यस किसिमका भ्रमणले गाउँपालिकाहरूबीच सहकार्य र सीपको आदान-प्रदानलाई प्रोत्साहन गर्दै समग्र कृषि क्षेत्रलाई सबल बनाउन सहयोग पुर्याउँछ।
यो भ्रमणले रिब्दिकोटको सफल अभ्यासहरू अन्य गाउँपालिकामा विस्तार गर्दै ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।