हुमाकान्त पोखरेल
गुल्मी, ०५ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भुसालले अहिलेको सरकारले भ्रष्टाचारी जोगाउन अध्यादेश ल्याएको बताएकी छिन् । शनिबार नेकपा माओवादी केन्द्र, धुर्कोट गाउँपालिकाको तेस्रो गाउँसम्मेलनलाई सम्बोधन गर्दै नेतृ भुसालले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको बताइन् ।
‘नियमअनुसार मंसिरमा बोलाउनुपर्ने संसद बैठक नबोलाउने र माघमा अध्यादेश जारी गर्ने काम सरासर गलत छ ।’ भुसालले भनिन्, ‘सरकार सांसद र नागरिकसँग डराएको छ ।’ केही दिनअघि सरकारले संसद छलेर जग्गाको हतबन्दी फुकुवा, भ्रष्ट्राचारीले धरौटी राख्न पाउने लगायतका पाँचवटा अध्यादेश जारी गरेको थियो ।
त्यसै बिषयलाई इकिंत गर्दै पूर्वमन्त्री भुसालले यदि नीतिहरु संसदमा छलफल गरे पास नहुने डरले राति ११ बजेदेखि २ बजेसम्म मन्त्रीपरिषद्को बैठक बसेर अध्यादेश ल्याएको बताइन् ।
अहिलेको सरकार इतिहासकै भ्रष्ट सरकार भएको पनि उनको आरोप छ । मंसिर १६ मा भएको उप निर्वाचनको नजिता, पत्रकार महासंघको निर्वाचनको नतिजा लगायतका परिणामले पनि आफुहरुलाई थप उत्साहित बनाएकोले ०८४ को निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने भुसालले बताइन् ।