गुल्मी, ०१ फागुन ।
नेकपा माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटी गुल्मीले २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला कमिटी सचिव अशोक थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनयुद्धका उपलब्धि रक्षाको लागि माओवादीहरु थप एकताबद्ध हुनुपर्ने बताए । पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट जनयुद्धका उपलब्धिलाई जोखिममा पार्नेगरी गतिविधि संचालन भइरहेकोले त्यसतर्फ सजक रहन पनि उनले आग्रह गरे ।
विशेष अतिथि नेकपा एमाले गुल्मी जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनारले जनयुद्धमा गरेका प्रतिवद्धता पुरा गर्नको लागि इमानदारिताका साथ काम गर्नुपर्ने बताए । विशेष अतिथि माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर १ (ख) का संयोजक गीता थापाले अब कम्युनिष्टहरु एक हुनुपर्ने धारणा राखेकी थिइन् । कार्यक्रममा प्रेस सेन्टर केन्द्रीय सदस्य भरत पाण्डे, अखिल क्रान्तिकारी गुल्मी जिल्ला इन्चार्ज भरत चन्द, माओवादी केन्द्र नगरकमिटी उपाध्यक्ष सीता विश्वकर्मा, खड्ग श्रेष्ठ, रञ्जु सुनार लगायत पार्टीका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटी अध्यक्ष गिरीसिहं महाकिमको अध्यक्षता एवम् सचिव भरत पन्थीको संचालनमा सम्पन्न भएको थियो । दिवसको अवसरमा साँझ दीप प्रज्वलन समेत गरिएको थियो ।