हुमाकान्त पोखरेल
रेसुङ्गा नगरपालिकाले संचालन गरेको छैठौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ । चार दिनसम्म संचालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा चार कास्य पदकसहित राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जितेको हो ।
जितसँगै रेसुङ्गा माविले नगद १८ हजारसँगै राष्ट्रपति रनिङ्ग शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित सिद्धबाबा माध्यमिक दोस्रो तथा आठ स्वर्ण, सात रजत र १३ कास्य पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतिय भएको छ ।
द्धितिय र तृतिय हुने विद्यालयले क्रमशः १३ र नौ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए । प्रतियोगितामा सबैभन्दा धेरै महेन्द्र माविले २८ पदक जितेको भएपनि स्वर्ण पदक महत्वपूर्ण भएकोले रेसुङ्गा मावि प्रथम भएको हो ।
प्रतियोगितामा लिटिल स्टारले तीन स्वर्ण, दुई रजत र एक कास्य, ब्रिलियन्ट युनाइडेट एकेडमीले तीन स्वर्ण, दुई रजत र छ कास्य, जनसहयोग माविले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक प्राप्त गरेका छन् । त्यसैगरी भाडगाउँ माविले एक स्वर्ण, पाँच रजत र तीन कास्य, ब्राइटर इङ्गिस बोर्डिङ स्कूलले एक स्वर्ण, दुई रजत र दुई कास्य, रिडर्स पब्लिक हाइ स्कूलले एक स्वर्ण तथा दुई कास्य, गण्डकी इङ्गिस बोर्डिङ स्कूलले एक रजत र एक कास्य, त्रिभुवन माविले तीन रजत र तीन कास्य तथा भगवती माविले तीन रजत प्राप्त गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पन्थीले जानकारी दिए ।
खेलकुदमा सदरमुकामका सामुदायिक विद्यालयको तुलनामा निजि विद्यालय भने निकै कमजोर देखिएका छन् ।
विजेतालाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले नेपालमा खेलबाटै खेलाडीहरुले जिवनयापन गर्न सक्छन् भन्ने उदाहरण विभिन्न खेलकुद प्रतियोगिताहरु मार्फत पुष्टि भएको बताए ।
त्यसैगरी रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरपालिका सधै विद्यार्थी एवं युवा खेलाडीहरुको पक्षमा रहेको भन्दै आगामी दिनमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने आफुहरुको लक्ष्य रहेको बताए ।