गुल्मी, ०७ फागुन
गुल्मीको मदाने गाउँपालिकामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पुरुषतर्फ अन्तर स्थानीय तह र महिलातर्फ गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताको अयोजना गरिएको छ । प्रतियोगिताको पहिलो दिन आज सोमबार मदाने गाउँपालिकाका चार महिला समुहबीच खेल भएको छ ।
जसमा भनभनेलाई हराउँदै म्यालपोखरी र अग्लुङ्गलाई हराउँदै सिर्सेन विजयी भएको छ । प्रतियोगितामा पुरुषतर्फ छत्रकोट बाहेक बाँकी ११ पालिकाले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११, द्धितिय हुनेलाई ५५ हजार ५५५ र तृतिय हुनेलाई २५ हजार ५२५ पुरस्कार राशिको व्यवस्था गरिएको छ । खेल पर्सि नौ गतेसम्म संचालन हुने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले खेल क्षेत्रले मानिसको चौतर्फी विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर जीवलाल खरेल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत विभिन्न जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता खड्काको स्वागत मन्तव्य रहेको थियो । बाँकी खेलहरु भोली बिहान ८ बजेबाट संचालन हुने गाउँपालिकाले जनाएको छ ।