गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको पाँचौ फोर्टिन स्टार कप, माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधी रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माध्यमिक विद्यालयले हात पारेको छ । शनिबार चिदिचौर खेल मैदानमा भएको खेलमा जनसहयोगले महेन्द्र माविलाई १–० गोल अन्तरले पराजित ग¥यो ।
जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निर्णाय गोल गरे । फोर्टिन स्टार कपमा पहिलो पटक गत बर्ष सहभागि हुँदा जनसहयोग मावि क्वाटरफाइनलबाट बाहिरिएको थियो । दोस्रो पटक भने उपाधी नै जितेको छ । खेलमा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्र मावि गत बर्ष पनि दोस्रो भएको थियो ।
जिल्लामा विद्यालयस्तरीय छात्र फुटबलमा हुने सबैभन्दा ठुलो प्रतियोगिता भएकोले फोर्टिन स्टार कपको उपाधि महत्वपूर्ण मानिन्छ । खेल जितेसँगै जनसहयोग माविले ३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने महेन्द्र माविले २५ हजार, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । मंसिर ११ देखि संचालन भएको फोर्टिन स्टार कपमा शुक्रबार भएको सेमिफाइनलमा महेन्द्र माविले भाडगाउँ मावि र जनसहयोगले सिद्धबाबा माविलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
खेलमा सबैभन्दा धेरै गोल गर्ने सिद्धबाबा माविका सुजन बस्नेत, वेष्ट गोल अफ टुर्नामेन्ट रिडर्स पब्लिक हाई स्कूलका रिलेस श्रीस, फेयर प्ले टिम ब्रिलियन्ट युनाइटेड एकेडमी, इमर्जिङ्ग प्लेयरको रुपमा जनसहयोग माविका प्रिन्स गुरुङ्ग, वेष्ट किपर जनसहयोग माविका सुवास सोमै भएका छन् ।
त्यसैगरी वेष्ट डिफेन्टर जनसहयोग माविका कप्तान सन्देश सार्की, वेष्ट प्लेयर अफ टुर्नामेन्ट जनसहयोग माविका सुदिप सार्की, फेयर प्लेयर महेन्द्र माविका उमेश श्रीस, वेष्ट मिड फिल्डर महेन्द्र माविका कप्तान भुवन ढेगा, फाइनल खेलको म्यान अफ द म्याच जनसहयोग माविका कप्तान सन्दिप परियार तथा फेयर प्ले अवार्ड महेन्द्र माविका किपर आकाश घर्ती मगरलाई प्रदान गरिएको आयोजक फोर्टिन स्टार कपका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । कार्यक्रमकै अवसर पारेर गुल्मीका पहिलो अन्तरािष्ट्रय फुटबल खेलाडी ज्ञानेन्द्र प्रसाद शेरचन थकालीलाई सम्मान गरिएको छ ।
कार्यक्रम समापनको अवसरमा ज्ञानेन्द्रकी आमा बुद्धी कुमारी थाकालीलाई दोसल्ला र सम्मान पत्रले रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सम्मान गरे । साविकको तम्घास गाविस वडा नम्बर ४ तथा हाल रेसुङ्गा नगरपालिका –८ मा जन्मिएका थकाली सन् १९९० देखि १९९६ सम्म नेपालको राष्ट्रिय टिमको मिड फल्डरको भुमिकामा खेलेका थिए ।
सन् १९९३ मा बंगलादेशको ढाकामा आयोजित छैठौँ दक्षिण एसीयाली फुटबल प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउन उनको भुमिका रहेको तथा खेलमार्फत जिल्लाको पहिचान बढाउन सहयोग गरेकोले उनलाई सम्मान गरिएको आचार्यले बताए । गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको आचार्यले जानकारी दिए ।
यस बर्षको फोर्टिन स्टार कपमा १५ विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले खेल क्षेत्रको विकासका लागि नगरपालिका सधै प्रतिबद्ध रहेको बताए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताभर रेडियो समृद्धि एपm्एम् ९८.१ मेगाहर्ज, गुल्मीटुडे डट कम, खेल एन्पि र महेश सेभेन युटुब च्यानलले मिडिया पार्टनरको रुपमा भूमिका खेलेका थिए ।