फूलखेतीमा किसानको आकर्षण

हुमाकान्त पोखरेल
गुल्मी । पछिल्लो समय गुल्मीका किसानहरु फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लागतमा बढी उत्पादन र राम्रो बजार पाउने भएपछि उनीहरु फूलखेतीतर्फ लागेका हुन् । गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाका धनराज पौडेलले विगत लामो समयदेखि रुपन्देहीको फलफूल थोक बजारमा फूलको व्यापार गरे ।

तीन बर्षदेखि भारतको बनारसबाट फूल ल्याएर समेत व्यापार गरे । यसरी व्यापार गर्दा उनले आफ्नै जग्गामा फूल खेतीको सम्भावना देखे र गाउँ फर्किए । गाउँको १७ रोपनी जग्गामा फूलसँगै सुन्तला पनि उनले लगाएका छन् । ‘अब सुन्तलाको पनि सिजन सुरु भयो, फूल पनि राम्रो फूलेको छ ।’ उनले भने, ‘१० देखि १५ लाखको फूल बेच्ने योजना बनाएको छु ।’

फूलको बजारको लागि समस्या नभएको समेत उनले बताए । १७ रोपनी जग्गामा फूल खेती गर्नको लागि उनले पाँचदेखि छ लाख लगानी गरेका छन् । ‘अधिकाशं फूलको बजार बुटबल हो ।’ उनले भने, ‘प्रतिकेजी पाँच सय रुपैँयामा बिक्री हुन्छ ।’ फूलको लागि यो पहिलो बर्ष भएपनि राम्रो आम्दानी हुनेमा विश्वस्त रहेको उनी बताउछन् । उनले फूलखेतीका लागि एकजना कर्मचारी पनि राखेका छन् ।

मदाने गाउँपालिका –६ पुर्कोट दहका भरत खनालले पनि यो बर्षबाट फूल खेती सुरु गरेका छन् । तिहार, विवाह, पुजा, विभिन्न चाडपर्व एवं मेला महोत्सवमा फूलको प्रयोग बढ्न थालेपछि उनले पनि फूल व्यवसाय गर्ने सोच बनाए । पुर्कोट दहको पृथ्वी माध्यमिक विद्यालयका स्थायी शिक्षक समेत रहेका खनाल दिउँसोमा विद्यालय र बिहान–बेलुका फूल खेतीमा सक्रिय हुन्छन् ।

उनको बारीमा अहिले कर्मा ५५५ र टेनिस बल्ब जातको एक हजार पाँच सय वटा फूलका बिरुवा छन् । उनले तिहारको अवसरमा आफै बुटबल गएर फूल बेच्ने योजना बनाएका छन् । ‘फूलमा ६० हजार लगानी गरेको छु, सबै बिक्री भएमा दुई लाखसम्म आम्दानी हुन्छ ।’ खनालले भने । उनले फूलका बेर्नाको लागि वडा कार्यालयबाट ५० हजार समेत पाएका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नको लागि बजारमा खादा र आयातित मालालाई प्रतिस्थापन गर्नुपर्ने उनले बताए ।

पौडेल र खनाल मात्रै होइन्, इस्मा गाउँपालिका –३ दर्लामचौरका गोकर्ण नेपाली पनि आजकाल फूलखेतीमै व्यस्त हुन्छन् । उनलाई फूल खेतीमात्रै होइन्, फूल टिपेर बेच्न पनि भ्याइनभ्याई छ । ‘इस्माका साथसाथै मुसिकोट, धुर्कोट र रेसुङ्गा नगरपालिकासम्म फूल पु¥याएको छु ।’ गत जेठबाट फूल खेती सुरु गरेका उनले भने, ‘अहिलेसम्म ५५ हजारको मालामात्रै बिक्री गरे ।’ गोकर्ण घाँस खेतीमा सक्रिय थिए ।

तर घाँसबाट असारमा मात्रै आम्दानी लिन सकिने भएकोले अन्य समयमा घर खर्चको लागि फूल खेतीतर्फ लागेको उनी बताउछन् । तम्घासका अधिकाशं कार्यक्रम, गुल्मी महोत्सव, विद्यालयका कार्यक्रम लगायतका सार्वजनिक एवं निजी कार्यक्रममा गोकर्णले फूल पु¥याएका छन् । मल, बीउ, सिँचाई लगायतका बिषयमा भने राज्यले सहजिकरण गर्नुपर्ने उनले बताए । बुटबलबाट पनि फूलको अर्डर आएकोले तिहारसम्म पाँच क्विन्टल माला बेच्ने योजना रहेको उनले बताए । आजकाल जिल्लाका धेरै किसानहरु फूलखेतीतर्फ आकर्षित भएका छन् । जसबाट उनीहरुले मनग्य आम्दानी समेत गर्दै आएका छन् ।


गाउँमै उत्पादन हुने फूललाई स्थानीय सरकारले समेत सहयोग गरेका छन् । खादा र आयातित फूललाई धुर्कोट गाउँपालिकाले पाँच बर्ष अगाडी नै प्रतिवबन्ध लगाउने निर्णय गरेको थियो । अहिले पनि उत्पादित फूलको बजारीकरणमा गाउँपालिकाले सहजिकरण गर्ने अध्यक्ष भूपाल पोखरेलले बताए ।

उनले फूलको लागि आवश्यक पर्ने बीउ, मल एवं सिँचाईको लागि पनि पालिकाले सहयोग गर्ने बताए । इस्मा गाउँपालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले इस्मा फूलमा आत्मनिर्भर भएको बताइन् । स्थानीय फूललाई प्रवद्र्धन र बजारीकरण गर्ने उदेश्यले उनले आयातित फूललाई विस्थापन गर्ने कुँवरको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा