हुमाकान्त पोखरेल, गुल्मी ।
गुल्मीमा प्रथम पटक माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । तम्घासमा रहेको खुकुरी युथ क्लवले आगामी पौष १६ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो । सदरमुकाम तम्घासस्थित चिदिचौर खेल मैदानमा हुने प्रतियोगितामा १२ विद्यालय सहभागि हुनेछन् ।
प्रतियोगितामा ब्रिलियन्ट युनाइटेड एकेडेमी तम्घास, जनजागृती मावि हुँगा, सिद्धबाबा मावि तम्घास, रिडर्स पब्लिक स्कुल तम्घास, लिटिल स्टार पब्लिक स्कुल सिमिचौर, जनसहयोग मावि भुवनपानी, भगवती मावि, महेन्द्र मावि, आदर्श विद्या आश्रम, म्यालपोखरी मावि गौंडाकोट, उपल्लो तम्घास मावि र नयाँगाउँ माविले प्रतिस्पर्धा गर्नेछन् ।
क्लवले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी टाइसेट सार्वजनिक गरेको छ भने ट्रफी अनावरण गरेको छ । क्लवका सल्लाहकार नारायण आचार्यले ट्रफी अनावरण गरे । प्रतियोगिताको पहिलो खेल उपल्लो तम्घास मावि र जनजागृती माविबीच हुनेछ । त्यसैगरी जनसहयोग मावि र आदर्श विद्या आश्रम, म्यालपोखरी मावि र सिद्धबाबा मावि तथा भगवती मावि र महेन्द्र माविबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नयाँगाउँ मावि, लिटिल स्टार इङ्गिस बोर्डिङ स्कूल, रिडर्स पब्लिक हाई स्कूल र ब्रिलियन्ट युनाइटेड एकेडमीलाई बाइ परेको क्लवका सचिव निशान टन्डनले जानकारी दिए । प्रतियोगितामा समुह चरणका खेल चरणका खेल १२ ओभरको हुनेछ । जसमा तीन ओभरको पावर प्ले रहनेछ । सेमिफाइन र फाइनल खेल भने १६ ओभरको हुने आयोजकले जनाएको छ ।
खेलमा प्रथम हुनेले २२ हजार दुई सय २२ र द्धितिय हुनेले ११ हजार दुई सय २२ रुपैँयाका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष सन्दिप भलामीले जानकारी दिए । प्रतियोगितामा थड एम्पाएर र एल्बीडब्लु भने हुनेछैन । खेल अवधिभर गणेश थापा र शालिक खत्री एम्पायर रहने आयोजकले जनाएको छ ।