हुमाकान्त पोखरेल
तम्घास, १४ माघ ः गुल्मीको मालिका गाउँपालिकाले दैनिक अढाई घण्टा मात्रै मदिरा बिक्री वितरण गर्न पाइने निर्णय गरेको छ । समाजमा विभिन्न अपराधजन्य घटनाहरु बढ्दै गएकोले मदिरा बिक्री वितरण गर्ने समय तोकेको गाउँपालिकाले जनाएको छ । अब दैनिक रुपमा साँझ ५ः३० देखि ८ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाइने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उक्त समयमा पनि नाबालक, दीर्घरोगी र महिलाहरुलाई बिक्री गर्न पाइने छैन । यदि यो नियमभन्दा विपरित रहेर तोकिएको समयभन्दा अन्य समयमा मदिरा बिक्री वितरण गरेमा पहिलो पटकमा पाँच हजार जरिवाना गरिने पालिकाले निर्णय गरेको छ ।
अनुगमनको लागि पालिकाले प्रहरीलाई खटाउने र जरिवानाबाट प्राप्त भएको रकमको २५ प्रतिशत रकम प्रहरीको सवारी साधन मर्मतमा खर्च हुनेछ । साथै गाउँपालिकाले प्लास्टिक बोतमा बिक्री गर्दै आएको लोकल मदिरा पूर्ण रुपमा बिक्री वितरणमा रोक लगाउने पनि निर्णय गरेको छ । यस्तो मदिरा हटाउन पालिकाले व्यवसायिहरुलाई सात दिनको समय दिएको छ ।
मालिका गाउँपालिकाको वडा नम्बर ८ मा मदिरा सेवनकै कारण विगत एक हप्ताको बीचमा दुई जनाको ज्यान गएको थियो । मादक पदार्थको सेवनका कारण समाजमा पारिवारिक बेमेल, झगडा, हत्या जस्ता घटना बढ्दै गएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि पालिकाले विभिन्न निर्णयहरु गरेको उपाध्यक्ष अर्यालले बताउनुभयो ।