spot_imgspot_img

छत्रकोटका स्वयम् सेविकाहरुलाई प्रोत्सहन भत्ता र पेन्सन

हुमाकान्त पोखरेल
गुल्मी, १९ वैशाख । गुल्मीको छत्रकोट गाउँपालिका श्रृङ्गाकी भागिरथा कडेँलले २९ बर्ष आठ महिना १३ दिन महिला स्वास्थ्य स्वयम् सेविकाको रुपमा काम गरिन् । काम गरेबापत उनी सोमबार पालिकाबाट सम्मान पत्र, दोसल्ला र नगद ३० हजारसहित सम्मानित भइन् । साथै उनले विगत छ महिनाको मासिक एक हजारका दरले छ हजार रुपैँया पेन्सन समेत प्राप्त गरिन् । ‘सम्मानकै लागि काम गरेको होइन्, तर काम गर्दै जाँदा सम्मान आफै आउँदो रहेछ ।’ उनले भनिन्, ‘सम्मानित हुँदा धेरै खुसि लागेको छ, पेन्सनले बुढेसकालमा आत्मबल बढाएको छ ।’


वडा नम्बर १ हुँगाको साविक वडा नम्बर ३ मा ०५६ सालबाट महिला स्वास्थ्य स्वयम् सेविकाको रुपमा काम गरेकी गोमा भण्डारीले गत पौष २३ मा स्वेच्छिक अवकास लिइन् । २३ बर्ष स्वास्थ्य स्वयम् सेविकाको रुपमा काम गरेकी उनलाई पालिकाले सोमबार नगद २५ हजारसहित दोसल्ला र सम्मान पत्रले सम्मान ग¥यो । ‘नि–स्वार्थ ढङ्गले काम गर्दा सम्मानित हुने दिन पनि आउँदो रहेछ ।’ उनले भनिन्, ‘गाउँपालिकाले सम्मान गर्दा आफुले गरेको कामप्रति गर्व लागेको छ ।’ काम गर्दा समस्या धेरै आएपनि सम्मानले विगतका सबै समस्या बिर्सिएको उनले बताइन् ।

कडेँल र भण्डारी जस्तै पालिकाले सोमबार पाँच जनालाई नगदसहित सम्मान–पत्र र दोसल्लाले सम्मान गर्दै स्वयम् सेविकाबाट बिदाई ग¥यो । कडेँललाई पालिकाले ६० बर्ष उमेर पुगेबापत अनिवार्य दिएको हो भने अन्य चार जनालाई स्वेच्छिक अवकास दिएको हो । छत्रकोटले कार्यविधि नै बनाएर सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पेन्सन दिन सुरु गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए ।

कार्यविधिअनुसार कम्तिमा २० बर्ष सेवा गरेका र ६० बर्ष उमेर पुगेका स्वास्थ्य स्वयम् सेविकाहरुले प्रोत्साहन रकम ३० हजार र मासिक एक हजारका दरले पेन्सन पाउनेछन् । ६० बर्ष उमेर नपुगेका स्वयम् सेविकाहरुले स्वेच्छिक अवकास लिन चाहेमा फरक–फरक प्रत्साहन रकमको व्यवस्था गरिएको छ ।

५ देखि १० बर्षमा अवकास लिएमा १० हजार, १० देखि २० बर्षको अवधिमा अवकास लिएमा २० हजार र २० बर्षभन्दा बढी अवधि सेवा गरेमा २५ हजार पाउने पोखरेलले बताए । गर्भवती र सुत्केरी महिलाहरुको रेखदेख गर्ने स्वास्थ्य स्वयम् सेविकाहरुको हौसलाका लागि पालिकाले सम्मान गरेको अध्यक्ष रामप्रसाद पाण्डेले बताए । ‘सरकारले हौसला बढाउने हो, आगामी दिनमा रकमलाई बढाउदैँ लैजाने योजना छ ।’ अध्यक्ष पाण्डेले भने, ‘हामीले स्वास्थ्य क्षेत्रमा विशेष लगानी गरेका छौँ ।’ छत्रकोटमा कुल ८६ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा