spot_imgspot_img

आमाको पुण्यतिथि : विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षकलाई सम्मान

हुमाकान्त पोखरेल, गुल्मी
माघ २२ । गुल्मीको एक परिवारले आमाको पुण्यतिथिको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री र शिक्षकलाई सम्मान गरेको छ । जिल्लाको इस्मा गाउँपालिका –०६ अमरपुर निवासी गोविन्द गौतम परिवारले आमा जानकी गौतमको २४ औँ पुण्यतिथिको अवसरमा सोमबार अमरपुरकै १४८ विद्यार्थीलाई शैक्षिक सामग्री र आठ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

गौतम परिवारले अमरपुरको आप्लाएस्थित देविस्थान आधारभूत विद्यालयका २२ विद्यार्थीलाई स्वीटर र ५२ विद्यार्थीलाई कापी एवं सिम्पानीस्थित गोविन्द रत्न आधारभूत विद्यालयका १८ विद्यार्थीलाई स्वीटर र ५६ विद्यार्थीलाई कापी प्रदान गरेको छ ।
गोविन्द रत्न आधारभूत विद्यालयमा एक कार्यक्रम गरी अमरपुरका आठवटै विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ । अमरपुर ओमप्रसाद गौतम माविका तिल बहादुर पराजुली, गोविन्द रत्न लोकतान्त्रीक आधारभूत विद्यालयका टेकहरी पराजुली, देविस्थान आधारभूत विद्यालयका लोकनाथ पाण्डे सम्मानित भएका छन् ।

त्यसैगरी सरस्वती आधारभूत विद्यालयका गोपाल अर्याल, सहीद शमशेर बहादुर आधारभूत विद्यालयका धनिश्वर घिमिरे, बुल्म प्राथमिक विद्यालयका माया कुँवर, गहतेरा आधारभूत विद्यालयका मातृका पाण्डे र सरस्वती आधारभूत विद्यालयका धर्म पराजुलीलाई सम्मान गरिएको हो । प्रधानाध्यापकहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका इस्मा गाउँपालिकाका अध्यक्ष भगत खड्काले गौतम परिवारले शिक्षामा गरेको लागनी समाजका लागि अनुकरणीय भएको बताए ।


कोषको स्थापना
गोविन्दकी आमा जानकीको २०५६ माघ १६ र बुवा रामबहादुरको ०७४ असोज ६ मा मृत्यु भयो । बुवा–आमाको निधनपछि छोरी पूर्णकला, छोराहरु गोविन्द, धनिश्वर र मोती एवं बुहारीहरु ललिता, संगिता र मीराले संयुक्तरुपमा बुवा–आमाको नामबाट ०७५ सालमा ‘राम–जानकी गौतम स्मृती कोष’को स्थापना गरे । उक्त कोषमा अहिले बार्षिक ५० हजार व्याज आउने गरी रकम जम्मा गरिएको छ । उक्त रकमबाट गौतम परिवारले प्रत्येक बर्ष शैक्षिक कार्यक्रम गर्दै आएको छ ।

स्व. रामबहादुर गौतम र स्व. जानकी गौतम

परिवारले बुवाको पुण्यतिथिको अवसरमा अमरपुर ओमप्रसाद गौतम माविमा बालकक्षादेखि कक्षा १२ सम्मका कक्षा प्रथम हुने विद्यार्थीहरुलाई प्रोत्साहन रकम प्रदान गर्ने गरेको छ । उक्त रकम भने विद्यालयको बार्षिकोत्सवको अवसरमा प्रदान गरिने छोरा गोविन्दले जानकारी दिए । आमाको पुण्यतिथिमा गत बर्षसम्म विद्यार्थीलाई न्यायो लुगा मात्रै प्रदान गर्ने गरेकोमा यो बर्षबाट प्रधानाध्यापकहरुलाई पनि सम्मान गरिएको परिवारले जनाएको छ ।

अर्को बर्षबाट इस्माका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्ने योजना रहेको गोविन्दले जानकारी दिए । ‘बुवाले पहिलेदेखि नै अमरपुरको शिक्षा सुधारमा धेरै काम गर्नुभयो ।’ छोरा गोविन्दले भने, ‘हामीले बुवाको सपनालाई साकार पार्न थालेका हौँ ।’

गोविन्द रत्न लोकतान्त्रीक आधारभूत विद्यालयमा गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समितका पूर्व प्रमुख लक्षमण पराजुलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा परिवारको तर्फबाट गोविन्द र धनिश्वरले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेत बहादुर कुँवरको अध्यक्षता, शिक्षक गन बहादुर बस्नेतको स्वागत मन्तव्य एवं टेकहरी पराजुलीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा