गुल्मी, ०५ फागुन ।
रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीस्थित संस्कृत तथा साधारण माध्यमिक विद्यालयको ११२ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलामा विद्यालय एवं विद्यालयमा संचालन भइरहेको गुरुकुल शिक्षाको लागि ५० हजार भन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई प्रमाण–पत्र, दोसल्ला, करुवा तथा मायाको चिनोले सम्मान गरिएको छ ।
कार्यक्रमकै अवसरमा मनोज चौधरी र मुकेश श्रेष्ठलाई उत्कृष्ट शिक्षकको रुपममा सम्मान गरिएको छ भने शिक्षक धनन्जय भण्डारी र सीता पाण्डेलाई ‘मातृ सेवा प्रतिष्ठान अक्षयकोष’ बाट सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिबाट उत्कृष्ट सदस्यको रुपमा सुन्दर ज्ञवाली, शिक्षक अभिभावक संघको उत्कृष्ट सदस्यको रुपमा नेत्र बहादुर बोहोरा एवं विद्यालयप्रति बढी चासो राख्ने अभिभावकको रुपमा बुद्ध पराजुलीलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव ज्ञवालीले एक करोड ४१ हजार बराबरको आयव्यय विवरण र विद्यालयको बार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए । बार्षिकोत्सव समारोहमा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कष्ट हुने र बार्षिक परीक्षामा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान एवं विविध साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो विद्यालय, संस्कृत तथा साधारण माविमा गुरुकुल शिक्षा समेत संचालन हुँदै आएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं रुरुक्षेत्र –१ का पूर्व वडाध्यक्ष रामलाल विकको अध्यक्षता, रुरुक्षेत्रका पूर्व गाउँपालिका अध्यक्ष निकलण्ठ गौतमको प्रमुख आतिथ्यता, शिक्षक कृष्ण प्रसाद भट्राईको स्वागत मन्तव्य तथा शिक्षक धनन्जय भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।