हुमाकान्त पोखरेल
गुल्मी, २२ असार ः गुल्मीको छत्रकोट गाउँपालिकाले २.८ जिपिए भन्दा बढी अंक ल्याई एसईई उत्तिर्ण हुने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने भएको छ । गाउँपालिकाले २.८ वा सो भन्दा बढी अंक ल्याई पालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई दुई बर्ष पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको हो । यो सुविधाअन्तरगत विद्यार्थीहरुले विद्यालयमा तिनुपर्ने रजिष्ट्रेशन, पुस्तक एवम् यातायात लगायतका कुनै पनि शुल्क तिर्नु पर्नेछैन । गाउँपालिकाले पालिकाभित्रैका विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने तर २.८ जिपिए ल्याउन नसकेका गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई पनि छात्रबृत्ति प्रदान गर्नेगरी तयारी थालेको छ ।
जसका लागि कार्यबिधि निर्माण थालिएको र केही दिनमै उक्त कामले पूर्णता पाउने पालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । जुनसुकै विद्यालयबाट एसईई उत्तिर्ण गरेपनि पालिकाभित्रका विद्यालयमा मात्र अध्ययन गर्ने विद्यार्थीले उक्त सुविधा प्राप्त गर्नेछन् । पछिल्लो समयमा एसईई दिएपछि विद्यार्थीहरु अध्ययनको लागि बाहिर जाने भएकोले त्यसलाई रोक्नको लागि पूर्ण छात्रबृत्ति दिने निर्णय गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
छत्रकोटमा एक संस्थागत र नौ सामुदायिक गरी १० माध्यमिक विद्यालय छन् । जसमा गत बर्ष ३४४ जना विद्यार्थी एसईईमा सहभागि भएका थिए । हाल पालिकामा कक्षा ११ र १२ अध्यापन गराउने श्रृङ्गा जनता मावि, आत्मबोध मावि, आदर्श मावि, मैनडाँडा मावि र जनजागृती मावि गरी पाँच विद्यालय छन् । जसमा व्यवस्थापन, शिक्षा र मानविकी शंकायका कक्षाहरु संचालन गरिएका छन् ।
चालु शैक्षिक सत्रमा सबै विद्यालयमा गरी ढाई सयभन्दा बढी विद्यार्थी कक्षा १२ मा अध्ययनरत रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले बताउनुभयो । आचार्यका अनुसार आगामी आर्थिक बर्षमा शिक्षाको क्षेत्रमा एक करोड ६२ लाख पालिकाले बिनियोजन गरेको छ ।