हुमाकान्त पोखरेल
०४ असौज, गुल्मी । शिक्षकहरुले गरेको विद्यालय बन्दका कारण गुल्मीका ४९ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका अनुसार बिहीबार जिल्लाका सबै सामुदायिक विद्यालयहरु बन्द भए । जसका कारण उक्त विद्यालयमा अध्ययनरत ४८ हजार ५२३ विद्यार्थीको पढाई प्रभावित भएको छ । गुल्मी जिल्लाभरमा कुल ५११ सामुदायिक विद्यालय छन् । जसमा ५४ वटा निजी विद्यालय छन् । त्यसमध्ये पनि रेसुङ्गा नगरपालिकाभित्रका ३१ सामुदायिक विद्यालयमा नगरको क्यालेण्डरअनुसारको बिदा छ ।
रेसुङ्गा नगरबाहेकका जिल्लाका ११ पालिकाका ४२६ विद्यालय शिक्षकको आन्दोलनका कारण बन्द भएको जिल्ला शिक्षा तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । शिक्षकको आन्दोलनका कारण जिल्लाका १४५ वटा माध्यमिक विद्यालय, ६९ वटा निम्न माध्यमिक विद्यालय एवम् २४३ वटा प्राथमिक विद्यालयको पढाई पूर्णरुपमा बन्द भएको छ । जिल्लाको कालिगण्डकी र छत्रकोट गाउँपालिकाले विद्यालय संचालन गर्न शिक्षकहरुलाई आह्वान गरेपनि पालिकाको आह्वानलाई शिक्षककले कार्यान्वयन गरेनन् । रेसुङ्गा नगरले भने तिजको समयलाई मध्यनजर गर्दै भदौ ३१ गतेदेखि असौजको ५ गतेसम्म पाँच दिन बिदा गरेको थियो । शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले आइतबारदेखि विद्यालय संचालनमा आउने तालिका रहेको बताए ।
उनले रेसुङ्गा नगरपालिकाको सन्दर्भमा आइतबारसम्म शिक्षक र सरकारबीच बार्ता टुंगिए विद्यार्थीहरुलाई सहज हुने प्रतिक्रिया दिए । रेसुङ्गामा सरकारीमध्ये १२ माध्यमिक विद्यालय, तीन निम्न माध्यमिक विद्यालय र १६ प्राथमिक विद्यालय छन् । जसमा सात हजार ७६० विद्यार्थी अध्ययनरत छन् । शिक्षक महासंघले अगुवाई गरेको आन्दोलनमा गुल्मीबाट करिब दुई सय शिक्षक काठमाडौ गएका छन् । जिल्लाभरका कुल दुई हजार नौ सयभन्दा बढी शिक्षकले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।