गुल्मी, वैशाख २९ ।
गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान गरिएको छ । जिल्लाको शुभलक्ष्मी क्लिनिकले शनिबार रेसुङ्गा नगरपालिकाका दमकल चालक कमल पन्थी सहितका पाँच जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
क्लिनिकले पन्थी सहित दमकल (बारुण यन्त्र) सहायक कृष्ण बहादुर थापा, नगर प्रहरी जवान बसन्त बस्नेत, जीवन पाण्डे र नगरपालिकाका कार्यालय सहयोगी प्रेम बहादुर मगरलाई सम्मान गरेको हो ।
उनीहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको संस्थाका व्यवस्थापक राजेन्द्र विश्वकर्माले जानकारी दिए । गुल्मीमा रहेका १२ पालिकामध्ये सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल छ ।
उक्त दमकलले सदरमुकाम तम्घासका साथसाथै इस्मा, गुल्मीदरबार, धुर्कोट, अर्घाखाँचीको छत्रदेव लगायतका ठाउँमा सेवा दिइरहेको छ । सोही दमकल लिएर आगो निभाउन खटिने चालकसहितका सदस्यहरुलाई सम्मान गरिएको शुभलक्ष्मी क्लिनिकका प्रबन्ध निर्देशक होम पल्लीले जानकारी दिए ।
गुल्मीमा यो बर्ष आगलागीबाट एक सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट हुनुका साथै तीन हजार बन्दा बढी हेक्टर जंगलमा क्षती पुगेको छ । संस्थाका प्रबन्ध निर्देशक पल्लीले जोखिमपूर्ण मानवीय सेवामा लाग्ने जनशक्तिलाई काममा हौसला प्रदान गर्न सम्मान गरेको बताए ।
सम्मानित हुने व्यक्तिहरुले प्रति व्यक्तिहरुले शुभलक्ष्मी क्लिनिकबाट आजैका मितिदेखि लागु हुनेगरी एक बर्षसम्मको लागि प्रति व्यक्ति १० हजार बराबरको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
कार्यक्रमकै अवसरमा शुभलक्ष्मीले वैशाख महिनाको उत्कृष्ट कर्मचारीको रुपमा रामविर यादवलाई सम्मान गरको छ । त्यसैगरी सन्तोष बोहोरालाई फेरी भेटौला कार्यक्रमअन्रतग बिदाई गरिएको छ भने नयाँ कर्मचारी नविन श्रेष्ठलाई स्वागत गरिएको छ ।