spot_imgspot_img

रेसुङ्गामा परीक्षण उडान : जनता झुक्याउने खेल नहोस

हुमाकान्त पोखरेल, गुल्मी ।

रेसुङ्गा बिमानिस्थलमा जहाज आउनुको एक दिन अगाडी शनिबार रेसुङ्गा नगरपालिकामा भएको छलफलपश्चात हामी बिमानिस्थलमै पुग्यौ । मैले बिमानिस्थलको टर्मिनल भवन नजिकैबाट एउटा भिडियो बनाएर टिकटक र फेसबुकमा पोष्ट गरे । त्यसपश्चात मलाई काठमाडौमा बसोबास गर्ने जैसिथोकका प्रेम पोखरेल दाईको फोन आयो । ‘भाई एयरपोर्ट पुगेछौ, निर्माण सम्पन्न भएछ, खुसि लाग्यो ।’ मैले भने, ‘हजुर ।’ त्यसपछि उहाँले बिमानिस्थलको नियमित उडानबारे चासो व्यक्त गर्नुभयो । मैले निश्चित नभएको कुरा सुनाए । उहाँले जसरी पनि नियमित व्यवसायीक उडान हुनुपर्छ र त्यसमा मलाई पनि आवश्यक खबरदारी गर्नुपर्छ भन्ने ढंगले कुरा गर्नुभयो ।

उहाँपछि काठमाडौमै बस्ने अन्य गुल्मेलीको फोन आयो । फोन गर्नेले जहाज नियमित उड्छ कि उड्दैन ? यसलाई भाडादर मिलाएर नियमित उडाउनुपर्छ भन्ने उहाँहरुको धारणा थियो । त्यसपछि बुटबल र गाउँबाट पनि धेरै जनाले फोन नै गरेर बिमानिस्थलबारे चासो व्यक्त गर्नुभयो । शनिबार दिउँसोबाट नै स्थानीय देखि राष्ट्रियसम्मका मिडियाले पनि बिमानिस्थलमा प्रदर्शनी उडान हुने बिषयलाई महत्व दिएका थिए भने धेरै गुल्मेलीले उक्त समाचारलाई सेयर गरेका थिए । नगरप्रमुखले फेसबुकमार्फत उपस्थितिको लागि निम्ता दिएका थिए भने नगरपालिकाले पालिकाका सेवा नै बन्द हुने सूचना समेत जारी गरेसँगै नागरिकको उत्साह ह्वात्तै बढ्यो । र आइतबार जहाज हेर्नको लागि हजार भन्दा बढी बिमानिस्थलमा उपस्थित भए ।

जहाज बिमानिस्थलमा ओर्लिएपछि उपस्थित नागरिक निकै खुसि देखिन्थे । तर नियमित उडान हुनेमा भने शंका व्यक्त गरिरहेका थिए । यसअघि ०७५ जेठ २५ गते धुले उडान भएपछि नियमित उडान हुने धेरैको अनुमान थियो । राजनीतिक नेतृत्वले नियमित उडान हुने आश्वासन देखिाएको थियो । तर आश्वासनअनुसारको काम नहुँदा नागरिकले अब पनि नियमित हुनेमा शंका गर्नु स्वभाविकै हो । ०६३ मा काम सुरु भएको बिमानिस्थल बीचमा रकम अभावमा काम नै भएन । धुले उडानपछि काम पनि सम्पन्न भयो । तर करिब आठ महिनासम्म परीक्षण उडान नै भएन । काम सम्पन्न भएपछि पनि धेरै समय बिमानिस्थल जहाजको पर्खाइमा बस्दा गुल्मेलीले जहाज आउने आशा मारिसकेका थिए । तर नगरपालिका नेतृत्वको सक्रियतामा जहाज आयो । अझैपनि नियमित उडान हुने कुनै निश्चित छैन ।

यहाँ थुप्रै विकासका त्यस्ता आयोजना छन्, जहाँ एकपटक तामझामका साथ शिलन्यास हुन्छन् तर पछि काम हुँदैनन् । सडक, पुल, खानेपानीका आयोजना अझैपनि थुप्रै अलपत्र जस्तै छन् । बिमानिस्थल र अन्य आयोजनाको नेतृत्वकर्ता एकै–एकै प्रकृतिको भएकाले पनि बिमानिस्थल नियमित संचालन भइहाल्नेमा विश्वास गरिहाल्न भने गाहे नै छ । बिमानिस्थल निर्माण गर्दापनि ३४ करोडभन्दा बढी रकम खर्च भएको छ । त्यो रकम हाम्रो करबाट संकलन गरिएको हो । बिमानिस्थलको प्रत्येक संरचना निर्माण गर्दा हाम्रो श्रम जोडिएको छ । मुल्य जोडिएको छ । अहिले परीक्षण उडान गर्दा पनि लाखौँ रकम खर्च भएको छ । रेसुङ्गा बिमानिस्थलसँग जिल्लाको भाग्य र भविष्य जोडिएको छ । हामी र हाम्रो पुस्ताको समृद्धि जोडिएको छ । जिल्लाको पर्यटन, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा बिमानिस्थलले प्रत्यक्ष सरोकार राख्दछ । त्यसले गर्दा पनि बिमानिस्थलमा गरिएको परीक्षण उडान केवल जनता झुक्याउने खेल नहोस् । नियमित संचालन होस् ।
(पोखरेल विगत सात बर्षदेखि गुल्मीमा पत्रकारितामा क्रियाशिल छन् । )

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा