इस्माकाे प्राथमिकता : खानेपानी, शिक्षा र पर्यटन

हुमाकान्त पोखरेल, गुल्मी
०५ असार । जिल्लाको इस्मा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि खानेपानी, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएको छ । मंगलबार सम्पन्न १४ औँ गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले खानेपानी, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएका हुन् । इस्माले आगामी आ.व.लाई ‘खानेपानी बर्ष’का रुपमा मनाउने उल्लेख गरेको छ । पालिकाभित्रका लिफ्टिङ खानेपानीको संचालन खर्चका लागि विद्युत महसुलमा सहयोग गर्ने, बृहत खानेपानीको मर्मतका लागि दर्लामचौर, दोहोली र रजस्थलमा पिउनेपानी समस्या समाधान गर्ने, ६६५ घरमा ‘एक घर एक धारा’ थप गर्ने एवम् वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण र संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शिक्षातर्फ पालिकाले शैक्षिक सत्र २०८० लाई ‘अनुगमन बर्ष’को रुपमा मनाउने गरी नीति सार्वजनिक गरेको छ । ‘पढ्दै कमाउदैँ’ कार्यक्रमको सुरुवातको लागि खाली रहेका विद्यालय भवनमा च्याउ खेती गर्ने, हिमालय माविमा कृषि विषय अध्ययन गरेका विद्यार्थीहरुले तयार पारेका कृषि उत्पादनको खरिद तथा बजारीकरणको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

कृषि अध्ययन गर्ने विद्यार्थीमध्ये उत्कृष्ट एकजनालाई पालिकामा करारमा नियुक्त गर्ने, ओ.जे.टी.को लागि पालिकाका विभिन्न कृषि एवम् पशु फर्ममा पठाउने, विद्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने, कक्षा, तह वा विद्यालय समायोजन दरबन्दी मिलान गर्ने नीति अवलम्बन गर्ने नीति अपनाइने गाउँपालिकाले जनाएको छ । पालिकाले उत्कृष्ट शिक्षक एवम् कक्षा १० र १२ को नजितामा उत्कृष्ट अंक ल्याउने एक÷एक जना विद्यार्थीलाई पुरस्कृत गर्ने, गुल्मीका क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने इस्माका विद्यार्थीहरुलाई नदोहोरिने गरी छात्रबृत्ति उपलब्ध गराउने एवम् अभिभावकबिहीन १४ बर्षमुनिका बालबालिकाहरुलाई गायत्री आश्रममा व्यवस्थापन गर्ने खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

इस्माले आगामी आर्थिक बर्षलाई पर्यटन बर्षका रुपमा मनाउने भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेका विभिन्न पर्यटकीय स्थलहरुलाई पालिकाभित्रका पर्यटकीय स्थलमा सूचीकरण गर्ने, इस्माकोट वरिपरिको स्थलमा आवश्यक संरचना निर्माण गर्ने एवम् परम्परागत नाच, भजन किर्तन र लोक संस्कृतिको प्रबद्र्धन गर्ने नीति सार्वजनिक गरिएको छ ।

यसका साथै गाउँपालिकाले जंगली जनावर नियन्त्रणका लागि पहल गर्ने, माटो परीक्षण सेवालाई वडास्तरमा पु¥याउने, किसानलाई कृषिजन्य सामग्रीमा ५० देखि ७५ प्रतिशत अनुदान दिने, अपाङ्गता भएका व्यक्तिलाई मौरी घार वितरण गर्ने, दर्लामचौरमा रहेको औद्योगिक ग्रामको पूर्वाधार विकास गर्ने, सेरामिक्स उद्योगलाई प्रबद्र्धन गर्ने, रासायनिक मल वितरणलाई टोल–टोलमा पु¥याउने, गणित र विज्ञान विषयको हकमा स्थायी अध्यापन अनुमती पत्र नभए पनि अध्यापन गर्न पाउने व्यवस्था मिलाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, ८० बर्षमाथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि निःशुल्क प्रयोगशाला परीक्षण उपलब्ध गराउने, गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती पालिका एवम् खरका छानामुक्त पालिका घोषणा गर्ने, स्वास्थ्यसम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, युवाहरुलाई आवश्यकता र मागको आधारमा खेलकुद सामग्री उपलब्ध गराउने, ‘क’ वर्गको अपाङ्ग परिचय पत्र घरमै गएर उपलब्ध गराउने जस्ता नीति तथा कार्यक्रम इस्माले सार्वजनिक गरेको छ ।

पालिकाले पाँच लाखभन्दा कम लागतका योजनाहरु कुल बजेटको ३० प्रतिशत भन्दा कम राख्ने, पालिकाभित्रका सबै सडकहरुलाई मर्मत गर्ने, खेतीयोग्य जमिनमा हुने क्षतिलाई न्यूनिकरण गर्ने, आय–व्यय विवरण अर्को महिनाको ७ गतेभित्र सार्वजनिक गर्ने, आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने लगायतका कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष भगतसिंह खड्काले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा