धुर्कोट गाउँपालिका पूर्ण पोषण मैत्री एवम् पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

हुमाकान्त पोखरेल
गुल्मी, १८ असार । गुल्मीको धुर्कोट गाउँपालिकालाई पूर्ण पोषण मैत्री एवम् पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले पालिकालाई पूर्ण पोषण मैत्री एवम् पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेका हुन् ।

पालिकाका सबै वडाका स्वास्थ्य चौकी एवम् धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत सुत्केरी स्वास्थ्य संस्था घोषणा गरिएको, सबै स्वास्थ्य संस्थामा बर्थिङका लागि चाहिने सबै सामग्री खरिद गरी प्रदान गरिएको, सबै बर्थिङ सेन्टरमा बेबीवार्मरको व्यवस्था गरिएको लगायतका काम सम्पन्न गरेपछि पालिकालाई पूर्ण संस्थागत सुत्करी पालिका घोषणा गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुमध्ये एक जना फोकल पर्सनको रुपमा तोकिएको, स्वास्थ्य संस्थामा पोषणसम्बन्धि कम्तिमा एक जना तालिम प्राप्त जनशक्ति रहेको, सबै स्वास्थ्य संस्थामा शौचालयहरु रहेको एवम् साबुन पानीको समेत व्यवस्था भएको लगायतका आवश्यक मापदण्ड पुरा गरेको आधारमा पालिकालाई पूर्ण पोषण मैत्री पालिका घोषणा गरिएको अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा जैसिथोक स्वास्थ्य चौकीका प्रमुख चुरामणी खनालले पूर्ण पोषण मैत्री एवम् पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा अभियानको प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा एक आर्थिक बर्षको अवधिभर सम्बन्धित वडाभर कोही पनि घरमा सुत्केरी नभएको, सबै गर्भवती महिलाहरुले पूर्ण टि.टि.खोप लगाएको लगायतका आधारमा मात्रै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सकिने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख खत्रीले पूर्ण पोषण मैत्री एवम् पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नु आफैमा महत्वपूर्ण भएको भन्दै सबै धुर्कोट बासीलाई बधाई दिए । त्यसका साथै उनले घोषणा गरिएका बिषयवस्तुको दीगोपनामा पनि जोड दिए । गाउँपालिका उपाध्यक्ष सीता गिरीले यो अभियानमा साथ दिने सबै स्वास्थ्यकर्मी एवम् महिला स्वास्थ्यकर्मीलाई धन्यवाद् दिदैँ निरन्तरताका लागि पनि सबैको उत्तिकै भूमिका हुने बताइन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले पूर्ण संस्थागत प्रसुती एवम् पूणै पोषण मैत्री पालिका घोषणा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले धुर्कोटले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनमा नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न स्वास्थ्य चौकी एवम् धुर्कोट प्राथमिक स्वाथ्य केन्द्रका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा