हाडहाडेमा वडा कार्यालय भवनको शिलन्यास

हुमाकान्त पोखरेल
गुल्मी, ०७ चैत ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेको वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले हाडहाडेको सुनपोखरी डाडोँमा नयाँ भवको शिलन्यास गरेका हुन् । कार्यालय भवन निर्माणको लागि पालिका र वडाको गरी कुल एक करोड २२ लाखमा सम्झौता गरिएको छ ।

वडाध्यक्ष पदम विष्टका अनुसार चालु आर्थिक बर्षमा गाउँपालिकाबाट कुल लागतको ७५ प्रतिशत र वडा कार्यालयको सिलिङ्गबाट २५ प्रतिशत बजेटबाट भवन निर्माण हुन थालेको हो । जसका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट ५० र वडाबाट १३ लाख बजेट बिनियोजन भएको छ । बाँकी बजेट आगामी बर्ष बिनियोजन गरिनेछ ।

दुई तलाको भवन निर्माणको जिम्मा अर्घाखाँचीको रेमाकेवल विल्डर्सले लिएको छ । कम्पनीले ०८२ असार मसान्तसम्म भवन निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । अहिले हाडहाडे बजार नजिकै एकतले कच्ची भवनबाट वडा कार्यालय संचालन भइरहेको छ । वडाध्यक्ष विष्टले प्रदेश र संघीय सरकारले सहयोग नगर्दा वडाको बजेट कार्यालय भवन निर्माणमा खर्च गर्नुपरेको बताए । भवन निर्माणको लागि स्थानीयले तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

हाडहाडेमा चालु आर्थिक बर्षमा खेल मैदानको लागि र प्रहरी चौकीलाई तीन रोपनी जग्गा निःशुल्क रुपमा प्राप्त भएको छ । त्यसैगरी हाडहाडेमा झण्डै ५० मिटर सडक ढलान लगायतका विभिन्न भौतिक संरचना निर्माणका काम भएको वडाध्यक्ष विष्टले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा