दुध बिक्रीबाट मनग्य आम्दानी

गुल्मी, २१ फागुन । गुल्मीको रेसुङ्गा नगरपालिका–०७ का शम्भु पाण्डे रोजगारिको लागि १२ बर्ष विदेश बसे । विदेश (दुवै)मा उनले होटलमा काम गर्थे । उनी एकपटक घर आएको बेला फेरी विदेश जान मन लागेन । अन्तत उनले ०७० सालबाट व्यवसायिक गाईपालन सुरु गरे ।

सिद्धबाबा गौशला तथा कृषि फर्ममा १० वटा गाईबाट व्यवसाय सुरु गरेका पाण्डेले कुनै समय ३२ वटासम्म गाई पाले । अहिले उनको गोठमा १५ वटा माउ गाई छन् । त्यसबाहेक साना बाच्छीहरु पनि छन् । गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दुध उत्पादन गर्छन् । प्रतिलिटर ७५ रुपैँयामा तम्घासमा उक्त दुध बिक्री गर्छन ।

‘दैनिक छ हजारको दुध बिक्री हुन्छ । यसरी हेर्दा मासिक एक लाख ८० हजार बार्षिक २१ लाख ६० हजारभन्दा बढी आम्दानी छ ।’ पाण्डेले भने, ‘दुध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।’ विदेशको काममा स्वतन्त्रता नहुने भन्दै विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताए । पाण्डेसँग अहिले जर्सी, होलिस्टाइन लगायतका जातका गाई छन् । ‘बिहान साढे चार बजे उठेर गाईको स्याहार–सुसारमा लाग्छु ।’ उनले भने, ‘एकचित्त भएर काममा लागे सफल भइन्छ ।’

धुर्कोट गाउँपालिका –०६ का मेघनाथ अर्यालले कोभिडभन्दा अगाडी बुटबलमा व्यवसाय गर्थे । ०७७ मा आएको कोरोनाले उनलाई घर फर्कायो । बच्चाबच्चीको पढाई पनि बन्द भयो । कोभिडले केही समय बुटबल फर्किने स्थिति भएन । केही समयको लागि गाउँ आएका अर्याल पुन बुटबल नफर्किने गरी भैसीँ व्यवसायमा लागे ।

०७७ सालबाटै ‘अर्याल पुशपंक्षी फर्म’ बाट भैसीँपालन व्यवसायमा लागेको अर्यालको गोठमा अहिले २२ वटा माउ भैसीँ छन् । त्यो बाहेक साना पाडा–पाडी गरेर ३० वटाभन्दा धेरै छन् । ‘प्रतिलिटर सय रुपैँयामा दैनिक ८० लिटर दुध घरबाटै बिक्री भइरहेको छ ।’ अर्यालले भने, ‘गाउँका १० जनालाई रोजगार पनि दिएको छु ।’ उनले सिजनमा १५० लिटरसम्म दुध बिक्री गरेको बताए ।

व्यवसाय सुरु गर्दाको बर्ष बाहिरी वातावरण नुबुझेर घाटामा गएपनि अहिले फर्मको स्थिति सुधार जनक रहेकोले भैसीँपालन व्यवसायमा सन्तुष्टि मिलेको बताए । पहिले–पहिले बुटबल धेरै समय बसेपनि अहिले भने हावापानीको कारण बुटबल बस्न गाहे हुने उनले बताए । अर्यालले गत बर्ष भेटेनरी कार्यालयले पाँच लाखको कार्यक्रम दिएर सहयोग गरेको बताए ।

सुरुमा गाउँमै भैसीँपालन व्यवसाय गर्छु भन्दा नपत्याउने गाउँलेहरु अहिले आफ्नो कर्म देखेर दंग पर्ने अर्यालको भनाई छ । उनले भैसीँपालन व्यवसायका साथसाथै व्यवसायिक मकै र धान खेती पनि गरेका छन् । जसका लागि मालिका गाउँपालिका–६ मा बार्षिक १८ लाख तिर्नेगरी लिजमा जग्गा समेत लिएका छन् । तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउछन् ।

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका–५ वस्तुका रविन्द्र घिमिरे पनि आजकाल दुध उत्पादनमै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म घिमिरेको दैनिकी गाई÷भैसीँको स्याहार, दुध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ । ‘अहिलेसम्म एक करोड छ लाख लगानी लगाएको छु, जसबाट ३० वटा गाई÷भैसीँ अट्ने गोठ बनाएको छु र ३० वटा गाई÷भैसीँ पनि किनेको छु ।’ घिमिरेले भने, ‘भैसीँ पालन व्यवसायबाट म र मेरो परिवार निकै सन्तुष्ट छ ।’ उनले अहिले दैनिक ७० भन्दा बढी लिटर दुध बिक्री गरेको र वैशाख ३० गतेबाट तम्घासमा प्रतिलिटर ५० रुपँैयामा मही पनि बिक्री गर्ने योजना रहेको बताए ।

घिमिरेले ०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र बिषयमा स्नातकोत्तर पास गरे । उनले सानैदेखि आफु पनि स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बनाउने सपना देखेका थिए । अहिले आफैले सोही सपना साकार गर्दैछन् । कोरोनापछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उनी सुनाउछन् ।

‘सुरुमा त कसैले पत्याएनन्, तर निरन्तर गर्दै गए ।’ उनले भने, ‘अहिले व्यवसायिक कृषक बन्न पाउँदा खुसि लागेको छ ।’ माथिल्लो तह अध्ययन गरेर विदेश नै जानुपर्छ भन्ने धारणा गलत सावित गराउन पनि आफु लागिपरेको उनले बताए । हिमालय माविबाट एसएलसि दिएपछि उच्च शिक्षा अध्ययन गर्न गाउँ छोडेको २२ बर्षपछि घिमिरे फेरी गाउँ फर्किएर व्यवसायिक भैसीँ पालनमा लागेका हुन् ।

राज्यले कृषि क्षेत्रलाई अगाडी बढाउनको लागि अनुदानको सट्टा सरल कृषि कर्जाको व्यवस्था गर्नुपर्ने घिमिरेको भनाई छ । त्यसका साथै एक बर्षअगाडी आएको लम्पी स्किन रोगका कारण आफुले धेरै गाई÷भैसीँ गुमाएको तर अजोड इन्स्योरेन्समा बीमा गरेपनि कम्पनीले क्षतिपूर्तिबापतको रकम नदिएको उनले गुनासो गरे ।

गुल्मीमा पाण्डे, अर्याल र घिमिरे त व्यवसायिक दुग्ध उत्पादनमा लागेका केही प्रतिनिधिमुलक कृषक मात्रै हुन् । बजारको कुनै समस्या नहुने र दुधबाट विभिन्न थरिका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसानहरु दुग्ध उत्पादनतर्फ आकर्षित भएका छन् । अधिकाशं दुध सम्बन्धित स्थानीय बजारमै खपत हुने गरेको छ ।

त्यसका अलवा तम्घास, रिडी, सत्यवतीको जुहाङ्ग, रुरुक्षेत्रको बलेटक्सार, मुसिकोटको वामिटक्सार जस्ता ठाउँमा दुध बढी खपत हुँदै आएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले एक जना व्यक्तिले बार्षिक ९१ लिटर दुध पिउनुपर्नेमा जिल्लामा ९० लिटरका दरले दुध उत्पादन भएको बताए ।

‘गुल्मीको दुई लाख ६० हजार जनसंख्यालाई बार्षिक ९० लिटरका दरले पिउन पुग्नेगरी दुध उत्पादन भएको छ ।’ पाण्डेले भने । जिल्लामा दुध उत्पादन बृद्धि गर्नको लागि भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रले अगुवा कृषकहरुलाई तालिम पनि दिएको उनले बताए । तालिममा दैनिक एक सय लिटरसम्म दुध उत्पादन गर्ने किसानहरु सहभागि थिए ।

‘दुधको उत्पादन बढाउनको लागि घाँस लगाउने तरिका, बाँझोपनको समस्या लगायतको बिषयमा तालिम दिएका छौ ।’ प्रमुख पाण्डेले भने, ‘तालिमले दुधलाई बजारसँग जोड्नको लागि मद्धत गरेको छ ।’ नेपाल सरकारले नै बीमा कम्पनीहरुलाई दिनुपर्ने रकम नदिएको कारण बीमा गरेका कृषकहरुले रकम नपाएको पाण्डेले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा