हिरा ए.सी.
१.परिचय
गुल्मी जिल्ला दक्षिण एसियामा पर्ने भूपरिवेष्ठित मुलुक नेपालका सात प्रदेश मध्येको एक लुम्बिनी प्रदेशमा अवस्थित छ । यस जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका, ९३ वडा, २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । वि.स. २०७८ को जनगणनाअनुसार ६६१२५ घरधुरी रहेको यस जिल्लाको कुल जनसंख्या २४६४९४ रहेको छ, जसमध्ये १३४४६९ महिला रहेका छन् ।
नेपाल एकीकरणपूर्व गण्डकी प्रश्रवण क्षेत्रमा रहेका चौबीसी राज्यहरु गुल्मी, इस्मा, धुर्कोट, मुसीकोट, अर्घा र खाँचीमध्ये अर्घाखाँची जिल्लामा अर्घा र खाँची राज्य समावेश गरिएको छ भने गुल्मी, इस्मा, धुर्कोट र मुसीकोट गरी चार राज्यलाई समेटेर गुल्मी जिल्ला बनेको हो । गुल्मी जिल्ला २७.५५ं उत्तरी अक्षांशदेखि २८.२७ं उत्तरी अक्षांश, ८३.१३ं पूर्वदेखि ८३.३५ं देशान्तर बीच पर्दछ । उत्तर दक्षिण साँगुरो परेर पूर्व पश्चिम लाम्चो आकृतिको यो जिल्लाको पूर्वमा स्याङ्जा र पाल्पा जिल्ला, पश्चिममा प्युठान, उत्तरमा बाग्लुङ र दक्षिणमा अर्घाखाँची जिल्ला पर्दछन् । यसको क्षेत्रफल ११४९ वर्ग किलोमिटर रहेको छ ।
शालीग्रामको लागि प्रसिद्ध कालीगण्डकी नदीका साथै दरम, बडीगाड, हुग्दी, रिडी, छल्दीपनाह र निस्ती जस्ता नदीहरुले सिंचित गरेको यस जिल्लालाई रेसुङ्गा, सत्यवती, थाप्लेको लेक, मदाने, सालिमे जस्ता पहाडी चुचुराहरु, चौरासी, सिमल्टारी, छल्दीटारी, पौंदीअरेवा, वामीटक्सार, खज्र्याङ्ग, अँगाहा, अस्लेवाचौर जस्ता फाँटहरु, दिब्रुङ्ग दह, सालिमेदह, टिमुरेताल, पुर्कोटदह जस्ता दह र तालहरुले सुन्दर बनाएका छन् ।
कतिपयको भनाइमा ऋष्यश्रृङ्ग ऋषिको तपोभूमि र उनैको नामबाट नामकरण भएको मानिने प्राकृतिक सौन्दर्यले भरिपूर्ण रेसुङ्गा शिखर र चारधाम मध्येको एक एवं पूर्वीय सभ्यताको महत्वपूर्ण केन्द्र मानिने रुरुक्षेत्रले गुल्मीको गरिमा बढाएका छन् ।
यसका साथै रुद्रवेणी, विचित्रगुफा, कंकेदेउराली, कुर्घामालिका, इस्मामालिका जस्ता धार्मिक एवं पर्यटकीय क्षेत्रहरु गुल्मीका अमूल्य निधिका रुपमा रहेका छन् । मध्यकालीन चौबीसी राज्यका कोत तथा दरबारहरु इस्माकोट, धुर्कोट, मुसिकोट र गुल्मी चारपाला दरबार र तिनका भग्नावशेषहरु समेत सुरक्षित पाइने गुल्मी जिल्लाको इतिहास निकै लामो रहेको पाइन्छ । यस जिल्लाको इतिहास केलाउँदा पौराणिक÷प्रागऐतिहासिक कालबाट चर्चा सुरु गर्नुपर्ने हुन्छ ।
२. पौराणिक÷प्रागऐतिहासिक कालमा गुल्मी
गुल्मी र यस वरपरको क्षेत्रको वर्णन पुराणहरुमा गरिएको पाइन्छ । बाराहपुराणमा मुक्तिनाथ, रुरुक्षेत्र, देवघाट र त्रिवेणीको विस्तृत उल्लेख छ । त्यसैगरी स्कन्द पुराणअन्तर्गत हिमवत्खण्ड अध्याय ५५ मा कालीगण्डकी वा शालीग्रामा नदीको विषयमा चर्चा गरिएको छ । जसमा शालीग्रामभित्र सुन हुने र भगवानको स्वरुप स्वयं चक्र बन्ने हुँदा सो नदीको पानी उत्तम जल भएको कुरा उल्लेख गरिएको इतिहासकार राजाराम सुवेदीले लेखेका छन् ।
कालीगण्डकी नदीको धार्मिक महत्वका बारेमा धेरै चर्चाहरु भएको पाइन्छ । शालीग्राम कालीगण्डकीका गर्भमा र किनारमा मात्र पाइने हुनाले यसको धार्मिक महत्व उच्च रहेको छ । कालीगण्डकी– भगवान विष्णुका गण्डस्थल (गाला) बाट छुटेको पसिना, स्नान गर्दा परमशान्ति दिने, यस नदी स्नानबाट शरीर शुद्ध हुने, पाप नाश हुने, पानी पिउँदा जठराग्नि जागृत हुने, निरोगी हुने मान्यता रहेको छ । राजाराम सुवेदीका अनुसार पुराणहरुमा वर्णित ऋष्यश्रृङ्ग ऋषि श्रृङ्गा र रेसुङ्गाका तपस्वी हुन् । गण्डकी प्रश्रवण क्षेत्र ऋष्यश्रृङ्ग लगायत धेरै ऋषिहरुको तपस्थलका रुपमा रहेको थियो ।
पौराणिक तथा प्राग्ऐतिहासिक कालदेखि गुल्मी महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ । रिडीक्षेत्र, रुद्रवेणी, धुर्कोट, मुसीकोट, इस्मा, पुर्कोट, आँपचौर जस्ता ठाउँमा प्राचीन मानिसले बसोबास गरेका गुफा र ओडारमा विभिन्न अकृति, मानिस बसेका ठाउँहरु भेटिन्छन् । “गुल्मीको भौगोलिक स्थितिका कारण रिडी, बडीगाड, दरमखोला, कालीगण्डकी, पनाहा, छल्दी, निस्ती, हुग्दी खोलाका छेउँछाउँमा रहेका मलिला फाँटहरुमा पाषाणयुगीन मानवको बसोबास भएको देखिन्छ” (सुवेदी, २०५५) ।
गुल्मी जिल्लाको मानव जातिको बसोबासको आधिकारिक काल निर्धारण गर्न नसकिए तापनि यहाँका आदिवासीहरु मगर, गुरुङ र वोटे, कुमाल जस्ता जनजाति हुन् भन्ने कुरा निर्विवाद छ (ज्ञवाली, २०६२) । प्रागऐतिहासिक तथा पाषाण युगीन सभ्यता र संस्कृतिको वैज्ञानिक ढंगले अध्ययन अन्वेषण गर्ने हो भने गुल्मीक्षेत्र प्राचीन मानव जातिको आश्रयस्थल रहेको पत्ता लाग्नेछ ।
प्राचीन कालबाटै गुल्मी भेकमा प्रशस्त खनिज पदार्थ उपलब्ध हुनाले पनि अन्यत्रबाट मानिसहरु धातुको खोजीमा यस ठाउँमा पुगेकाले पहिलेबाटै बस्ती बाक्लो रहेको पाइन्छ । बाहिरी शत्रुको डर पनि त्यति नहुने, सुरक्षित भूमि, न ठण्डी न गर्मी हुने, मानिसको बसोबासको लागि अनूकुल मौसम भएकोले पनि गुल्मी प्रागऐतिहासिक कालबाट बस्तीयोग्य मानिएको हुनुपर्दछ ।
३.लिच्छविकालमा गुल्मी
किराँत तथा लिच्छवी कालमा गुल्मी जिल्ला सैनिक इलाकाका रुपमा रहेको थियो । प्राचीन अर्थात् लिच्छविकालमा गुल्मी क्षेत्रलाई गण्डीगुल्मविषय भनिन्थ्यो (वज्राचार्य, २०२०) । प्राचीन कालमा यातायात र सञ्चारको कठिन परिस्थिति हुनाले टाढाटाढाका प्रदेशहरुमा प्रशासन सञ्चालनार्थ केन्द्रबाट अधिकारी खटाइन्थ्यो जसलाई क्षेत्रप वा क्षेत्रपाल भनिन्थ्यो । पछि क्षेत्रहरुलाई विषय वा जिल्लाका रुपमा विभक्त गरिएको पाइन्छ ।
प्रचलित विषयहरुमा गण्डीगुल्मविषय, जिल्लोद्गमविषय, पन्नगविषय, धवलश्रोतपुर विषय, पञ्चावतदेश विषय, फनपिङविषय आदि थिए (वज्राचार्य, २०३४) । शालिग्रामा नदीको तटमा रहेको गुल्मी लिच्छविकालमा एउटा अञ्चल वा क्षेत्रको रुपमा परिचित थियो । त्यहाँ सुरक्षाको निम्ति छाउनी पनि राखिएको थियो । जसलाई गुल्म भनिन्थ्यो । गण्डी गुल्म प्रदेश प्राचीन कालमा पठनपाठन तथा अध्ययनको केन्द्रस्थल पनि थियो ।
वि.सं. १०५५ मा गण्डीगुल्ममा बसेर सुनार राणकले सरोट गरेको एक धार्मिक पुस्तक अष्टसाहस्रिका प्रज्ञापारमिता प्राप्त भएबाट त्यसबेला गुल्मी ज्यादै सम्पन्न र शान्त वातावरणमा रहेको प्रमाणित हुन्छ । सो सरोट गरेको पुस्तक हाल तिब्बतको शाक्यमठमा सुरक्षित छ । उक्त अष्टसाहस्रिका प्रज्ञापारमिता नामक पुस्तकको पुष्पिका वाक्यमा “गण्डीगुल्म विषय” भन्ने उल्लेख गरिएबाट लिच्छविकालसम्म गुल्मी क्षेत्र लिच्छविहरुकै अधीनस्थ रही केन्द्रबाट शासित थियो । र गण्डकी प्रदेशको एक जिल्ला थियो भन्ने बुझिन्छ । (सुवेदी, २०५५) ।
त्यसैगरी नेपालका राजा हर्षदेवका पालामा वि.सं. ११५० मा सारिएको अष्टसाहस्रिका प्रज्ञापारमिता नामक पुस्तकको पुष्पिका वाक्यमा जीवधरसिंह कायस्थले गण्डीगुल्म विषयमा बसोवास गर्ने आफैले सारेको कुरा उल्लेख गरेका छन् । एवं प्रकारले वि.संं १२२१ मा राजा आनन्ददेवका पालामा सारिएको अष्टसाहस्रिका प्रज्ञापारमिता नामक पुस्तक हाल बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको संग्रहमा सुरक्षित रहेको छ ।
त्यस पुस्तकको पुष्पिका वाक्यमा पनि “गण्डिगुल्म विषय” भनेको हुनाले त्यसबेलासम्म गुल्मीक्षेत्र पठनपाठन, लेखन तथा उपासनाको केन्द्र र विद्वान्हरुको संरक्षण क्षेत्र रहेको प्रमाणित हुन्छ (सुवेदी, २०५५) । यसरी गुल्मी जिल्ला लिच्छवीकालदेखि महत्वपूर्ण सैनिक इलाकाका रुपमा रहेको छ ।
४.मध्यकालमा गुल्मी
नेपालको इतिहासमा मध्यकाल भन्नाले वि.सं. ९३६ मा नेपाल सम्वत् सुरु भएपछि प्रारम्भ भएको मानिएको छ । मध्यकालमा काठमाडौंको मल्ल राज्यहरुका साथै सिम्रौनगढ र सिंजा राज्य अस्तित्वमा रहेका थिए । मल्ल राजाहरुबीचको कलह र आफ्ना छोराहरुको लागि भागबण्डा गरेर राज्यलाई कान्तिपुर, भादगाउँ, पाटन लगायत थुप्रै टुक्रामा विभाजन गर्ने काम गरेकाले त्यतिबेला नेपालमा केन्द्रको शक्ति कमजोर रहेको देखिन्छ ।
जसले गर्दा उनीहरुको प्रभाव उपत्यका र त्यसको आसपासमा मात्र सीमित रहन गएको थियो । सो अवधिमा गुल्मी क्षेत्रमा स्थानीय विषयपति, थुमपति, सरदार, मुखियाहरुले आफैलाई राजा घोषणा गरेका थिए तर तिनीहरुको व्यवस्थित राज्य, सरकार, सेना आदि भएको प्रमाण पाइएको छैन । गुल्मी क्षेत्र मध्यकालमा सिंजा राज्यको अधिनमा रहेको थियो ।
४.१. सिंजा राज्यको अधीनमा
सिंजा खसहरुको शक्तिशाली साम्राज्य रहेको थियो । पश्चिममा गढवाल, कुमाउँदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको खस (सिंजा) राज्य तत्कालीन नेपालको ठूलो भूखण्ड थियो । यस राज्यको राजधानी सिंजा थियो । तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको मानिन्छ । यो समय १२औं शताब्दीतिर (इ.सं.११५०) भएको अनुमान छ । पश्चिम नेपालको दुल्लुस्थित कीर्ति स्तम्भमा इसाको बाह्रौं शताब्दीको सुरुतिर पश्चिम भोटको गुगे प्रान्तका खस राजा नागराजले आफ्नो राज्य स्थापना गरेको उल्लेख गरिएको छ । विद्वान् धनवज्र बज्राचार्यले कर्णाली प्रदेशको इतिहास नागराजबाट सुरु हुने कुरा भोटेली वंशावलीबाट पनि जानकारी पाइन्छ भनेका छन् (अधिकारी, २०६८) ।
सिंजा राज्यअन्तर्गत गुल्मी महत्वपूर्ण क्षेत्रका रुपमा रहेको थियो । खस राज्यअन्तर्गतका तिब्बत, लद्दाख, गढवाल, कुमाऊ, कर्णालीप्रदेश, गण्डकीप्रदेशमा सयौं राज्यहरु स्वतन्त्ररुपमा स्थापित भए । तीमध्ये गण्डकी प्रश्रवण क्षेत्रमा गुल्मी नाम गरेको एउटा स्वतन्त्र राज्यको आरम्भ भयो (सुवेदी, २०५५) । गुल्मी क्षेत्र सिंजाको अधीनमा परेको कुरा म्याग्दी जिल्लाको सञ्जेलगाउँमा राजा अभय मल्लको ताम्रपत्र प्राप्त भएबाट पनि प्रमाणित हुन्छ (खनाल, २०३०) ।
वर्तमान नेपालको स्वरुपका आधारमा गुल्मीक्षेत्र बीचभागमा पर्दछ र सिंजाबाट पूर्वतर्फ लाग्दा यसको नजिकैबाट गुज्रनुपर्ने हुन्छ । सिंजाले काठमाडौं उपत्यकामा बारबार आक्रमण गरेका र त्यहाँबाट कर असुली गरी लगेका प्रमाणहरु प्राप्त छन् । यसरी पश्चिम तिब्बतदेखि गढवाल, कुमाउ तथा काठमाडौं उपत्यकासम्मलाई कावुमा पारेका मल्ल राजाहरुले गुल्मीलाई पनि वशमा पारेको बुझिन्छ ।
कर्णाली प्रदेशका मल्लहरु शक्तिशाली रहेसम्म गुल्मी सोही राज्यअन्तर्गत रहेको थियो । इतिहासकार राजाराम सुवेदीका अनुसार राजा रिपु मल्लले कपिलवस्तुमा आक्रमण गरेर त्यहाँको बुद्धजन्मभूमिस्थित अशोकस्तम्भमा समेत अखिलेख उत्कीर्ण गराई लुम्बिनीबाट क्रमशः गोरुसिंगे, पत्थरकोट, सुपाकीदेउराली, हिले नुवाकोट, गुल्मीको इस्मा पुर्कोट, बाँझकटेरी, विपेगौंडा, ढोरपाटन हुँदै जुम्ला फर्केका थिए ।
किनभने लुम्बिनी, वुटवलबाट जुम्ला जाने पुरानो बाटो त्यही हो । राजा अभय मल्लको पालासम्म खस साम्राज्य शक्तिशाली देखिन्छ । त्यसपछि सिंजामा देखिएको आपसी कलह र शासनमा शिथिलता आएको मौका पारेर कर्णाली प्रदेशका भारदारहरुले आफूलाई स्वतन्त्र भएको घोषणा गरी पृथक्पृथक् राज्यहरुको स्थापना गरे । त्यति हुँदाहुँदै पनि गुल्मी भेकमा कर्णाली प्रदेशका मल्ल राजाहरुको प्रभाव पछिसम्म कायम रहेको थियो भन्ने कुरा विभिन्न स्रोतहरुबाट पुष्टि हुन्छ (सुवेदी, २०५५) । १२ मगरात क्षेत्रमा पर्ने गुल्मी जिल्ला सिंजाको पतनसँगै विभिन्न ससाना राज्यमा संरचित भएको पाइन्छ ।
४.२.बल्ढेङ्गढीको अधीनमा
पन्ध्रौ शताब्दीको सुरुदेखि नै खस साम्राज्य विभाजन हुन थाल्यो । खस राज्यको केन्द्र सिंजामा शासक कमजोर देखा पर्न थालेपछि स्थानीय शासकहरुले आफूलाई स्वतन्त्र शासक घोषणा गर्ने क्रम सुरु भयो । विक्रमको पन्ध्रौं शताब्दीको उत्तराद्र्धमा विशाल खस साम्राज्य विभाजन भई बाईसी राज्यको स्थापना हुन गयो । त्यसको केही समयपछि गण्डकी प्रदेशमा चौबीसी राज्यको स्थापना हुन गयो (श्रेष्ठ, २०५९) ।
यसैक्रममा गण्डकी प्रदेशका शक्तिशाली स्थानीय शासक बलिहाङ् राना मगरले वि.सं. १४४८ मा स्वतन्त्र बल्ढेङ्गढी राज्यको घोषणा गरे (शर्मा, २०७१) । कर्णाली प्रदेशका अन्तिम मल्ल राजा अभय मल्लको शक्ति वि.सं. १४४८ सम्म म्याग्दीको सञ्जेल गाउँमा प्राप्त ताम्रपत्रबाट प्रमाणित भएकोले त्यसपछि मात्र बल्ढेङगढी राज्य अस्तित्वमा आएको हो (घिमिरे, २०४५) ।
पाल्पामा सेनवंशीय राजाहरुको राज्य स्थापना हुनुपूर्वसम्म बल्ढेङगढी राज्य शक्तिशाली थियो । बल्ढेङगढी राज्यको उदयकालमा गुल्मी पनि त्यसको प्रभावमा परेको देखिन्छ (ज्ञवाली,२०६२) । तर गुल्मी, पाल्पा, अर्घा, खाँची, धुर्कोट, इस्मा र मुसीकोट राज्यको स्थापना भएपछि बल्ढेङगढी (बलिहाङ) राज्य स्वभावतः एक्लो र कमजोर बन्न गएको बुझिन्छ । पछि ती सातवटै राज्यहरु मिलेर बलिहाङ राज्यमाथि एकैचोटी हमला गरी ध्वस्त पारे अनि त्यो राज्यले चर्चेको भूभाग सबैले बाँडीचुँडी दखल गरे ।
यसो गर्दा “पहाडको धेरै भाग पाल्पालाई, तराइको धेरै भाग खाँचीलाई, गुल्मीलाई बल्ढेङगढी नै हात लाग्यो, अर्घालाई खास उपलब्धी भएन । इस्मा र मुसीकोटलाई पनि लाभ पुगेन” (सुवेदी, २०५५) । नेपाल एकीकरणको समय वि.सं. १८४२ मा पाल्पाली राजा महादत्तसेनले नेपाल एकीकरणमा सहयोग गरेकाले बहादुर शाहले बल्ढेङगढी पाल्पालाई दिए । वि.सं. १८६० मा पाल्पासँग नेपालको सम्बन्धमा चिसो आएपछि बल्ढेङगढी र त्यसवरपरका पहाडखण्ड पाल्पाबाट झिकी गुल्मीका राजा शक्तिप्रचण्ड शाहलाई दिइयो । यसरी गुल्मीक्षेत्र पहिले बल्ढेङगढी राज्यको अधीनमा रहेर त्यसको लोप भएपछि पुनः गुल्मीकै अधीनमा आएको देखिन्छ ।
(हिरा एसी नेकपा एमाले गुल्मीका नेता हुन् ।)