हुमाकान्त पोखरेल
गुल्मी, १५ माघ । गुल्मीमा सडक दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । आर्थिक बर्ष २०७८÷७९ देखि चालु आर्थिक बर्ष ०८१÷८२ को पौष मसान्तसम्म साढे तीन बर्षको अवधिमा भएका सवारी दुर्घटनामा १५ महिला, २५ पुरुष र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही समयमा भएका दुर्घटनाबाट ८० जना गम्भीर र ५४ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइतेमध्ये ३६ पुरुष, ३७ महिला र सात बालिबालिका रहेका छन् भने सामान्य घाइतेमध्ये १२ महिला, २६ पुरुष र १२ बालबालिका रहेका छन् । सबैभन्दा धेरै आर्थिक बर्ष ०७८÷७९ मा २७ दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ भने ३१ जना गम्भीर घाइते भएका छन् ।
त्यसैगरी ०७९÷८० मा छ दुर्घटनाबाट १० जना, ०८०÷८१ मा २० दुर्घटनाबाट नौ जना तथा चालु आर्थिक बर्षको पौष मसान्तसम्म १७ दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको छ ।
साढे तीन बर्षको अवधिमा छ वटा ट्रक, एउटा डोजर, चारवटा बस, २२ वटा जिप, कार, २१ वटा ट्याक्टर र १६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख लिल बहादुर कुँवरले जानकारी दिए । कच्ची सडक, तिब्र गती लगायतका कारण जिल्लामा सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी प्रमुख कुँवरले बताए ।
फोटो सभार ः अनलाइनखबर