रेडक्रसको ६१ औँ स्थापना दिवस ः गुल्मीका ११ पालिकामा वक्तृत्वकला प्रतियोगिता

गुल्मी, भदौ १९

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीले ६१ औ स्थापना दिवसको अवसरमा जिल्लाका पालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता मङ्गलबार सम्पन्न गरेको छ । इस्मा गाउँपालिकाबाहेक जिल्लाका ११ पालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । चन्द्रकोट गाउँपालिकामा ‘मानव सेवामा जुनियर तथा युवाको भूमिका’ बिषयमा प्रतियोगिता सम्पन्न भएको थियो । पालिकाका ११ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा मजुवास्थित ज्ञानोदय माविमा अध्ययनरत समिक्षा सापकोटा प्रथम, सराङ्गस्थित शारदा माविमा अध्ययनरत अनिषा क्षेत्री द्धितिय र ग्वाघा माविका सुगम कार्की तृतिय भएका छन् ।

विजेता तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष युवराज केसीले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष बल बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख नयन सिहं ठकुरी, प्रध्यानाध्यापक हरीप्रसाद न्यौपाने, रेडक्रसका प्रतिनिधि भानुभक्त सुवेदी, विद्यालय व्यवस्थापन समितिका विभिन्न पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी छत्रकोट समन्वय समितिको आयोजनामा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । श्रृङ्गा जनता माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा सोही विद्यालयका नेपाल जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रितम अर्यालको सभापतित्व रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, रेडक्रस सर्कल गुल्मीका सदस्य अनन्तराम पौडेलको विशिष्ट आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुन, कार्यपालिका सदस्य सावित्रा विक, शिक्षा शाखा प्रमुख टिकाराम आचार्य लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

छत्रकोट गाउँपालिकाभित्रका ११ विद्यालयका ११ प्रतियागीमध्ये आदर्श माविका अशोक अर्याल प्रथम, सरस्वती माविका सविता कँडेल द्धितिय र मैनडाँडा माविका मुना न्यौपाने तृतिय भएका छन् । प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि, विशेष अतिथि एवम् अतिथिहरुले टिका, नगद र प्रमाण पत्रले सम्मान गरेका थिए । कार्यक्रममा जनबोध माविका शिक्षक रामप्रसाद श्रेष्ठ र ज्ञवा बलेटक्सार माविका शिक्षक विष्णुप्रसाद ज्ञवालीले मूल्याकंनको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको संचालन श्रृङ्गा जनता मावि रेडक्रस सर्कलका शिक्षक नायक ललिता पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा