गुल्मीका चार ठाउँमा नमुना मतदान

हुमाकान्त पोखरेल, गुल्मी ।

आगामी मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीका विभिन्न चार ठाउँमा नमुना मतदान गरिएको छ । निर्वाचनमा बदर मतको सर्वेक्षण एवम् बदर मत कम गर्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाको रेसुङ्गा र मुसिकोट नगरपालिका एवम् कालिगण्डकी र छत्रकोट गाउँपालिकामा नमुना मतदान गरिएको छ । कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटमा गरिएको नमुना मतदानमा ७० मत खसेको थियो ।

जसमा तीन प्रतिशत मत बदर भएको थियो । त्यसैगरी छत्रकोट गाउँपालिकाको पल्लिकोटमा गरेको नमुना मतदानमा पाँच मत बदर भएको छ । त्यहाँ कुल ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए । रेसुङ्गा नगरपालिका –१४ पराल्मी र मुसिकोट नगरपालिका –७ वामीमा गरी कुल ९० मत खसेको थियो । जसमा १९ मत बदर भएको थियो । कार्यालयले सोमबार गुल्मीदरबार र रुरुक्षेत्र एवम् मंगलबार चन्द्रकोट र सत्यवती गाउँपालिकामा नमुना मतदान गर्दैछ । जिल्लामा कुल दुई लाख २३ हजार ६ सय १५ मतदाता छन् । त्यसैगरी कुल १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा