गुल्मी, १० असार ।
गुल्मीको मालिका गाउँपालिका– २ दर्लिङमा खहरेले बाबुछोरीलाई बगाएको छ। मालिका– २ च्यानडाँडा बस्ने ४१ वर्षीय लिलबहादुर घर्ती र उनकी छोरी आठ वर्षीया बिन्दु घर्तीलाई गएराति खहरेले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ससुराली जाने क्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको बाढीले बगाएको हो। बुबा ८० मिटर तल खोल्सामा बिहान मृत अवस्थामा फेला परेका र छोरी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।
अहिले जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराई प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक प्रधानले बताए। स्थानीय र प्रहरीको सक्रियतामा डोजरमार्फत सम्भावित स्थानमा बालिकाको खोजीकार्य भइरहेको छ।
स्राेत : टाेपलाल अर्याल, नयाँ पत्रिका