सरकारी रकम दुरुपयोग : असारमा किनेका अनुदानका ५० पाडा फागुनमा मरेर सकिए

टोपलाल अर्याल
गुल्मी, १९ साउन । गुल्मीको रेसुंगा नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को संघिय ‘पाडा प्रर्वद्धन’ कार्यक्रम अन्तरगत कृषकहरुलाई प्रस्ताव आव्हान ग¥यो । रेसुंगा नगरपालिका ११ का तिल बहादुर बुचा र वडा नं १२ का नेत्र बस्नेत गरेर दुई जनाले मात्रै प्रस्ताव पेश गरे । आर्थिक बर्षको अन्तिम भएकाले पनि धेरैले प्रस्ताव पेश गरेनन् । बजेट फ्रिज हुन नदिन नगरले बुचा र बस्नेतलाई कार्यक्रम दियो ।

यो कार्यक्रम कृषक र सरकारको ५०÷५० साझेदारी भएकाले नगरको १० र कृषकको १० लाख बजेटमा कपिलबस्तुको बहादुरगञ्ज गएर पाडा खरिद गरियो । २५÷२५ ओटा पाडा पाएपछि दुवै कृषकका गोठ भरियो । चुनावी बर्ष पनि भएकाले पाडा वितरण नयाँ जनप्रतिनिधीका लागि गत्तिलो काम बन्यो । तर, पाडा वितरण भएको चार महिनामै मर्न थाले । असार ०७९ मा वितरण भएका पाडामा कार्तिकदेखि बिरामी पर्न थाले । बुचा र बस्नेतका अनुसार सवै पाडा फागुनमा मरेर सकिए ।
असारमा भरिला गोठ फागुनमा खाली भए । पाडा खरिद र गोठ सुधार तथा निर्माणमा ५०÷५० प्रतिशत साझेदारी हो । पाडा खरिदमा १०÷१० गरेर २० लाख तथा गोठ निर्माण तथा सुधारमा पाँच÷पाँच गरेर १० लाख गरेर ३० लाख खर्च भएको छ । ढुवानी, दाना र औषधीमा समेत नगरले रकम खर्च गरेको छ । एउटा पाडाको २७ देखि ३५ हजार मुल्य परेको छ ।

गोठमा बाँधेको १५ दिनबाट मर्न थाले पाडा
असार ०७९ मा पाडा वितरण भएका हुन् । गोठमा बाँधेको १५ दिनमै आरुषी कृषि फर्मको एउटा पाडा म¥यो । धेरै जसो कार्तिकबाट मर्न थाले । फर्म संचालक तिल बहादुर बुचाका अनुसार घाँस, पानी खाँदा–खाँदै पाडा मर्न थाले । ‘मेरोमा घाँस पानी र चरन क्षेत्र प्रयाप्त छ । मैले व्यावस्थापनमा कुनै कम्जोरी गरेको थिइन,’उनले भने,‘हावापानी नमिरेरै मरे भन्ने मैले बुझेको छु ।’ अनुदानमा पाडा पाउने अर्का पशुपालक नेत्र बस्नेतको गोठमा पनि बुचाकोमा जस्तै छ । पाडाहरुको एक्कासी दुब्लाउने र बसेपछि उठ्दै नउठेर मर्ने गरेको बस्नेतले बताए । ‘मेरो गोठमा एकै दिन तीन ओटा पाडा पनि मरे । पाडा पालेर समृद्धिभन्दा मरेर गाड्न निकै चुनौती खेँपे,’बस्नेतले भने,‘कसैले पनि अनुदानको काम नगरोस् ।’ अचम्मको कुरा त दुवै कृषकले अनुदानमा ल्याएका बाहेक अरु पशुचौपायमा कुनै समस्या देखिएन् ।

भ्याटबिलको समस्याले पाडा खोज्न बहादुरगञ्ज
रुमाखर मरासिनी ः पशु प्राविधिक रेसुंगा नगरपालिका

‘पाडा प्रर्वद्धन’ कार्यक्रम स्विकृत भएपछि कृषकद्धय बस्नेत र बुचाले स्थानीय जातका पाडाकै माग गरेका हुन् । तराईको हावापानीमा हुर्किएका पशुचौपाय पहाडमा राम्रो नहुनेमा रेसुंगा नगरपालिकाका पशु प्राविधिक पनि ढुक्क थिए । तर, पशु प्राविधिक रुमाखर मरासिनीकै नेतृत्वमा कृषकको टोली पाडा खोज्न कपिलबस्तुको बहादुरगञ्ज पुगे । बहादुरगञ्जको खुल्लाचौरमा बिक्रीमा राखेका पाडाको एजेण्टबिच मोलमोलाइ चल्यो । विभिन्न एजेण्टसंगबाट ५० पाडा टोलीले लिएर फर्किए । पशुप्राविधिक मरासिनीले नजिकमा स्थानीय जातमा पाडा खरिद गर्दा भ्याटबिल नहुने र लेखापरिक्षण हुँदा भ्याट बिल अनिवार्य भएकाले बहादुरगञ्ज पुग्न परेको बताए ।

‘आफै प्राविधिक भएकाले राम्रा पाडा रोजेर ल्याएका हौ । भ्याटबिलका कारण दुख गरेर बाहिर पुग्ने अवस्था आयो,’मरासिनीले भने,‘दुख अनुसारको उपलब्धी देखाउन सकिएन ।’ कृषक नेत्र बस्नेतले आफुहरुको माग पनि स्थानीय पाडाको भएपनि भ्याटबिलका कारण बाहिर गएको बताए । उनले बाहिर जाँदा भारतीय नाकामा एजेण्टहरुलाई विभिन्न बाहानामा एक लाख बढि रकम बुझाउन बाध्य भएको गुनासो गरे । उनले बैंकबाट क्रृण खोजेर पाडाभन्दा भैसी पालेको भए धेरै उन्नती गर्न सकिने बताए ।

केन्द्रसंग समन्वयनै भएन
भरत काफ्ले ः प्रमुख
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र

जिल्लामा लुम्बिनी प्रदेश सरकार अन्तरगतको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रहेको छ । दुई जना डाक्टर र प्राविधिक कार्यरत छन् । तर, ठुलो संख्यामा पाडा खरिद गर्दा नजिकैको स्थानीय सरकार रेसुंगा नगरपालिकाले त समन्वय गरेननै । पाडा बिरामी भएर मर्न थालेपछि इन्सोरेन्स दाबीको प्रमाणका लागि मात्रै बिज्ञ केन्द्रलाई खबर आयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले स्थानीय तह र कृषक दुवैले केन्द्रसंग समन्वय नगरेको बताए ।

पाडाका लागि हावा पानी अनुसारको संभाव्यता अध्ययन नहुनु, पाडाहरुको पुर्व परिक्षण नहुनु र बिरामी हुने बित्तिकै बिज्ञ केन्द्रमा खबर नगरेका कारण ठुलो क्षति भएको काफ्लेले बताए । उनले परिक्षणको क्रममा आरडिटी परिक्षणमा टिबी पोजेटिभ देखिएपनि पिसिआरमा नेगेटिभ आएकाले मृत्युको खास कारण पत्ता नलागेको बताए । ‘पाडा ल्याउने निर्णय गर्दा समन्वय भएको भए सचेत बनाउँथ्यौ । बेलैमा खबर भए उपचारका थप उपाय खोजिन्थ्यो,’काफ्लेले भने,‘बिज्ञ केन्द्रका हिसावले सवैलाई समन्वयको लागि आग्रह गर्दछु ।’

 

सरकारको पैसा डुब्दा दुखी छौ ः अजोड इन्स्योेरेन्स
कृषकले प्रत्येक पाडाको ४० हजारका दरले अजोड इन्स्योरेन्समा इन्स्योरेन्स गरेका थिए । केहि समयमै पाडा मर्न थाले । अजोड इन्स्योेरेन्स गुल्मीका प्रमुख सन्तोष न्यौपाने कृषकको फर्ममा पशु प्राविधिक सहित पुगे । पशु मरेको तीन दिनमा कम्पनीलाई खबर गर्नुपर्छ । मरेका पाडाहरुको पोष्टमार्ट गरेर बिमा रकम भुक्तानीको प्रक्रिया थाले । तर, लगातार पाडा मर्न थालेपछि पोलिसी बन्द गर्नुपर्ने अवस्था आयो । न्यौपानले कृषकहरु बिमा गरेपछि थप सचेत नहुँदा सरकारी रकमको डुब्ने अवस्था रहेको बताए । ‘बिमा गरेपछि कृषकलाई घाटा नभएपनि सरकारको पैसा डुब्छ ।

त्यसैले अनुगमन र नियमन आवश्यक रह्यो,’उनले भने,‘बिमा कम्पनीहरु पनि सचेत बन्नुपर्छ ।’ न्यौपानेले रेसुंगाको घटनाले आफुहरुलाई पनि गम्भिर र दुखित बनाएको बताए । पाडा प्रर्वद्धन र बिमा दुवै किसानको पक्षमा भएपनि सहित व्यावस्थापन नहुँदा समस्या हुने गरेको छ । किसान बिमा गरिएका बस्तु वा पशुचौपायको वास्था नगर्ने गरेका गुनासा समेत आउन थालेका छन् । ‘सुरुमा पाडामा टिबी देखियो भनेपछि मान्छेमा सर्ने डरले गोठमै पसिन । रेसुंगा नगरपालिका १२ का नेत्र बस्नेतले आफैले भने,‘भेटेरिनरीको पछिल्लो रिर्पोटमा फेरि टिभी पोजेटिभ देखिएन् ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा