रेसुङ्गाका ३५७ जनालाई निस्सा वितरण

गुल्मी, १२ चैत । गुल्मीको रेसुङ्गा नगरपालिकाले निस्सा वितरण गरेको छ । सोमबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ३५७ जनालाई निस्सा वितरण गरिएको हो । जग्गा प्राप्तीका लागि नगरपालिकामा भूमिहिन दलित ४८, भूमिहिन सुकुम्बासी ४४ र अव्यवस्थित बसोबासी ३१३ गरी कुल ४०५ जनाले निवेदन दिएका थिए । जसमा भुमिहिन दलित २४, भूमिहिन सुकुम्बासी २० र अव्यवस्थित बसोबासी ३१३ गरी जम्मा ३५७ जना लाभग्राही कायम भएका थिए । जसमा वडा नम्बर १ का तीन, वडा नम्बर २ का ३०, वडा नम्बर ३ का ९६, वडा नम्बर ४ का ३६ जना लाभग्राही छन् ।

त्यसैगरी वडा नम्बर ५ का चार, वडा नम्बर ६ का २२, वडा नम्बर ७ का ४३, वडा नम्बर ८ का सात, वडा नम्बर ९ का आठजना रहेका छन् । वडा नम्बर १० का ५०, वडा नम्बर ११ का २८, वडा नम्बर १२ का २१, वडा नम्बर १३ का छ र वडा नम्बर १४ का एकजना लाभग्राही रहेका छन् ।

लाभग्राहीले निस्सा प्राप्तीका लागि दुई बर्ष अगाडी नै पालिकामा निवेदन दिएका थिए । जसमा जिल्लाका ११ पालिकाले यसभन्दा अगाडी नै निस्सा वितरण गरिसकेका छन् भने रेसुङ्गाले आज वितरण गरेको हो । निस्सा पाएपछि खुसि हुँदै रेसुङ्गा नगरपालिका –७ की माया विश्वकर्माले अब जग्गा पाउने आशा पलाएको बताइन् ।

तत्कालिन समयमा गाउँ विकास समितिले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनले घर बनाएकी थिइन् । घर बनाउन सुरु गरेपछि कतिपय व्यक्तिहरुले उक्त जग्गामाथि दाबी गरेको पनि उनले सुनाइन् । तर अहिले लालपुर्जा पाएपछि आफु ढुक्क भएको उनको भनाई छ । ‘लालपुर्जा नहुँदा समस्या थियो, तर अहिले निस्सा पाएसँगै लालपुर्जा पनि पाउने आशा जागेको छ ।’ उनले भनिन् ।

कार्यक्रममा बोल्दै मेयर खिलध्वज पन्थीले नगरबासीले लालपुर्जा प्राप्तीको लागि नगरपालिकाको तर्फबाट आवश्यक काम सकेको बताए । तर सरकार र गठनबन्धन परिवर्तन हुँदा काम प्रभावित हुनसक्ने उनको भनाई छ ।

गुल्मी जिल्लाभरमा भूमिहिन दलित ३०८, भूमिहिन सुकुम्बासी ३०८ र अव्यवस्थित बसोबासी दुई हजार १४७ गरी कुल दुई हजार ७१६ लाभग्राही रहेका छन् । जसमा दुई हजार ११८ जनालाई निस्सा वितरण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा