जहाज नआएपछि निराश हुँदै फर्किए यात्रु

हुमाकान्त पोखरेल
गुल्मी, २२ भदौ । गुल्मीबाट काठमाडौ जानको लागि गुल्मीको मालिका गाउँपालिका –५ छापका सन्तोष महतराले बिहीबार साँझ नेपाल एयरलाइन्सको टिकट लिए । जहाजमा चढ्नको लागि बिहान ६ः३० मा रेसुङ्गा बिमानस्थल पुगेका महतरा जहाज आइपुग्ने समयभन्दा एक घण्टा बढी समयसम्म जहाजकै पर्खाइमा बिमानस्थलमा बसे । अन्तत एयरपोर्टका कर्मचारीले मौसमको कारण देखाउँदै जहाज नआउने जानकारी गराएपछि निराश हुँदै तम्घास फर्किए । पत्रकार समेत रहेका महतराले रेसुङ्गा बिमानस्थलले केवल नागरिक झुक्याउने काम गरेको बताए । शुक्रबार नै जहाजमार्फत काठमाडौ जाने सपना गुल्मी मुसिकोटका जनार्दन घिमिरेको पनि पुरा भएन ।

शुक्रबार बिहानै एयरपोर्ट पुगेका घिमिरे जहाज नआएपछि अन्तत सदरमुकाम तम्घास फर्किए । ‘आज मौसम सफा हुँदा पनि जहाज आएन, १४ जना यात्रुहरु अलपत्र पर्नुप¥यो ।’ पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष समेत रहेका घिमिरेले भने, ‘यो नेपाल एयरलाइन्सको लाहापरवाही हो ।’ शुक्रबार बिरामी आमा लिएर काठमाडौं जान हिडेका सुरज कुँवर २ घण्टा उडानको प्रतिक्षा पछि गाडीमार्फत काठमाडौं हिंडे । उनले मौसममा खराबी नहुँदा पनि उडान नहुनु दुःखद् बिषय रहेको बताए । विमानस्थल पुग्नेहरु धेरै जसो बिरामी लिएर पुगेका थिए । ती सबै निराश भएर गाडीको यात्रामा गन्तव्य तर्फ लागेका थिए । छिमेकी जिल्ला अर्घाखाँचीका नागरिक समेत काठमाडौ जानको लागि रेसुङ्गा बिमानिस्थल पुगेका थिए । नागरिकको दुःखप्रति सम्बन्धित निकाय गैर जिम्मेवार बनेको विमानस्थल पुगेका अर्का यात्रु बेदप्रसाद कुँवरले बताए । पटकपटक मौसमको खराबी देखाउदैँ उडान नगर्दा बिमानिस्थलको औचित्यमाथि नै पश्न उठेको कुँवरले बताए ।

रेसुङ्गा बिमानस्थलमा यो शुक्रबार मात्रै जहाज नआएको होइन्, अघिल्लो शुक्रबार पनि एयरलाइन्सले टिकट बेचेर सेवा दिएन । एयरलाइन्सले जहिले पनि मौसम खराबिको कारण देखाउँदै उडानमा आलटाल गरिरहेको छ । नेपाल एयलाइन्सले भने पोखरा र भैरहवाको मौसम बिग्रिएपछि शुक्रबारको निर्धारित काठमाडौं–रेसुङ्गा उडान रद्ध गरेको जनाएको छ । उडानका लागि गन्तव्य विमानस्थलसँगै वैकल्पिक विमानस्थलको समेत मौसम राम्रो हुनुपर्ने नियमका कारण शुक्रबार रेसुङ्गाको उडान बन्द गर्नुपरेको प्राधिकरणको भनाई छ ।

रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्न नसक्दा विकल्पका रुपमा पोखरा वा भैरहवा तोकिएको छ । तर उक्त स्थानमा मौसम खराब भएकाले शुक्रबारको उडान रद्ध गरिएको रेसुङ्गा बिमानस्थलका एअर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले जानकारी दिइन् । रेसुङ्गा बिमानस्थलमा तीन महिनादेखि उडान बन्द छ । शुक्रबारका लागि उडान हुने भनिएपनि अल्टरनेट बिमानस्थलको मौसम खराब देखाउँदै उडान हुन नसक्दा टिकट काटेका यात्रु अलपत्र परेका छन् । शुक्रबार गुल्मीबाट काठमाडौं जान १३ र काठमाडौबाट गुल्मी आउनका लागि आठ जनाले टिकट लिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा