चरम मुल्य बृद्धिका बिरुद्धमा एमालेका २२ संगठन आन्दोलनमा

टोपलाल अर्याल गुल्मी

७ असोज । गुल्मीमा नेकपा एमाले निकट २२ जनबर्गीय संगठनले मुल्य बृद्धि लगायतका १० बुँदे माग राखेर सरकारको ििबरुद्धमा उत्रिएका छन् । आइतबार जनबर्गीय संगठनका नेताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणको लागि ज्ञापन पत्र पेश गरेका छन् । देश अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।

नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु नजिक आइरहेको बेला आर्थिक मन्दीको चपेटामा परेका जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य बस्तुहरुमा भएको मनपरी मुल्य बृद्धिको बिरोध संगठनहरुले गरेका छन् । त्यस्तै सरोकारवालासँग परामर्श नगरी ल्याइएको शिक्षा विधेयकका कारण शिक्षकहरु आन्दोलित भएको, जनप्रतिनिधी र जिम्मेवार व्यक्तिहरुबाटै स्वास्थ्यकर्मीहरु माथि कुटपीट हुँदा गुल्मी अस्पतालसहित देशकै स्वास्थ्य क्षेत्रमा अस्तव्यस्त देखिएको बिषय ज्ञापन पत्रमा उल्लेख गरिएको छ । साथै बेरोजगारीको समस्या झन बिकराल बन्दै गएकाले राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा सरकार पूर्णरुपमा असफल भएको संगठनका नेताहरुको आरोप छ ।

कृषि क्षेत्र सरकारको चरम उपेक्षामा परेको छ । शान्ति सुरक्षा र मानवअधिकारको रक्षाको स्थिति समेत अहिले निराशाजनक रहेको छ । सरकारी क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकाले घुसबिना कुनै काम नहुने स्थितिले जनतामा चरम आक्रोस पैदा भएको अनेरास्वाबियु गुल्मीका अध्यक्ष शोभाखर गिरीले बताए । उद्योगी व्यापारीहरुमा चरम आर्थिक संकट भई बैंकका व्याज समेत चलाउन नसक्ने अवस्थामा व्यवसायीहरुको ऋणको बिलम्ब हर्जाना नलगाउने तथा आर्थिक मन्दीको अवधिको व्याज मिनाह गर्ने व्यवस्था गर्नका लागि जोडदार माग गरिएको गिरीले बताए ।

मनपरी मूल्यवृद्धिमा सरकारले रमिता हेरेर बसेकोले तत्काल बजार अनुगमन गर्न आग्रह गर्दै सर्वोच्च अदालतले जघन्य अपराधमा जन्मकैद फैसला गरेका व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा आममाफी दिने सरकारका गलत निर्णयका कारण सरकारप्रति जनताको विश्वास टुटदै गएको राष्ट्रिय युवासंघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए । उनले आफुहरुका माग तत्काल संबोधन नभएर आन्दोलनको चेतावनी समेत दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा