हुमाकान्त पोखरेल
गुल्मी, १६ माघ ः गुल्मीमा शहीदको सम्मानस्वरुप उनीहरुको स्मृतीमा पार्क निर्माण गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले पालिकाभित्रका तीनजना शहीदको स्मृतीमा पालिकाको केन्द्र बर्बोटमा पार्क निर्माण गरेको हो । तत्कालिन शासन व्यवस्थाको बिरुद्धमा लडेका शमशेर बहादुर खत्री, खिम विक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतीमा पालिकाले झण्डै दुई करोड लगानीमा पार्क निर्माण गरेको हो ।
०७४ सालको निर्वाचनमा भुपाल पोखरेल पालिका अध्यक्षमा निर्वाचित भएपछि पार्क निर्माणको काम अगाडी बढाएका थिए । ०७५ सालको अन्तिमबाट निर्माण सुरु भएको पार्क हाल निर्माण सम्पन्न भइसकेको छ । पहिलेको सानो पाखेरी र सुख्ख डाडोमा अहिले आकर्षक पार्क निर्माण गरिएको अध्यक्ष पोखरेलले बताए ।
पार्कमा हाल घुम्नको लागि विभन्न ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । पार्कभित्र बनाइएका विभिन्न बगैँचा, फुटपाथ, पानीको फोहोरा, बाघ, धुर्कोट दरबार लगायतका वस्तुहरुको प्रतिमा, लाइटिङ लगायतका संरचनाले पार्कलाई झनै आकर्षक बनाएको छ । पार्कभित्रै दुईवटा प्रतिक्षालय समेत निर्माण गरिएको छ भने अधिकाशं ठाउँमा दुबो लगाइएको छ । जसले पर्यटकलाई पार्कभित्रै समय कटाउन सहज भएको छ ।
पार्कमा बालबालिकाहरुको लागि दुइवटा साना र वयस्कहरुको लागि एउटा ठुलो पिङ निर्माण गरिएको छ । पार्कभित्र धुर्कोटको नगदेबालीको रुपमा रहेको सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । त्यसैगरी धुपी लगायतका विभिन्न बिरुवाहरु लगाइएको छ । पार्कमा गेट, तारबार, गार्डरुम, टिकट काउन्टर, शौचालय, शहिदको शालिक राख्ने ठाउँ, फुटपाथमा इन्टरलक ब्लक लगाउने, रङ्गरोगन लगायतका संरचना निर्माणका समेत काम भएका छन् ।
भित्तामा विभन्न आकर्षक ढंगले चित्रहरु समेत बनाइएको छ । पार्कमा जाने पर्यटकको सवारीसाधन व्यवस्थापनको लागि ५० लाख लागतमा पार्किङ गर्न मिल्नेगरी ढलान गरिएको छ । त्यसैगरी पार्कको गेटमा शहिदहरुको नामावली समेत राखिएको पार्क संरक्षण समितिका अध्यक्ष गोपाल कुँवरले बताए ।
पार्क निर्माणको लागि आ.व. ०७६÷७७ मा एक करोड, ०७७÷७८ मा ४० लाख, ०७८÷७९ मा २० लाख तथा ०७९÷८० मा ६० लाख गरी हालसम्म दुई करोड ३० लाखभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका सब–इन्जिनियर कृष्ण बहादुर पहराईले जानकारी दिए । पार्कभित्रै शहीदको सम्मानस्वरुप मुर्ति राख्ने संरचना र त्यसमाथि शमशेर बहादुर खत्री, खिम बिक्रम नेपाली र जेदुराम भण्डारीको शालिक राखिएको छ । उक्त शालिकलाई फागुन १ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनावरण गर्ने कार्यक्रम रहेको छ ।
को हुन तीनजना शहिद ?
महिमान सिंह र कौशिल्यादेवी खत्रीको साइलो छोराको रुपमा वि.स. १९७९ सालमा साविकको मर्भुङ्ग गाविसमा शमशेर बहादुरको जन्म भएको थियो । भारतबाट म्याट्रिक पास गरेका खत्री २०१८ सालमा साविकको धुुर्कोट रजस्थलमा बसाई सरेका थिए । प्रजातान्त्रिक आन्दोलको क्रममा २०१९ साल जेठ १५ गते अम्मरपुरमा सभा गरिरहेको अवस्थामा राजा महेन्द्रको सुरक्षा भौजद्धारा उनको गोली हानी हत्या भयो ।
हत्यापछि टाउको काटेर उनकै सहयोगी दलबहादुर महतलाई बोकाएर गुल्मी जिल्लाभर परिक्रमा गराइएको थियो । उनको स्मृतीमा काँग्रेसले सदरमुकाम तम्घासमा शालिक स्थापना समेत गरेको छ भने उनका नाति शिब बहादुर खत्री ०७४ सालमा धुर्कोट गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएका थिए ।
खिम विक्रम नेपाली धुर्कोट गाउँपालिकाको पहिलो शहीद हुन् । आन्दोलनकै क्रममा पुर्कोेटमा तत्कालिन राज्यपक्षले गोली हानी उनको हत्या गरेका थिए । तर उनको जन्म र मृत्यु मिति भने खुलेको छैन । उनको नामबाट गाउँपालिकाले सडकको समेत नामाकरण गरेको छ । गाउँपालिकाकै वडा नम्बर ५ वस्तुका जेदुराम भण्डारीलाई पनि करिब ३५ बर्षको उमेरमा तत्कालिन सेनाले गोली हानी हत्या ग¥यो ।
उनी माओवादी निकट किसान संघ (क्रान्तिकारी)मा आवद्ध भई माओवादी आन्दोलनको पूर्णकालिन कार्यक्रता थिए । ‘देश र जनताका लागि आफ्नो बलिदान दिने शहिदको सम्मानमा पार्क निर्माण गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘हाम्रा पुर्खाहरुबाट हामीले धेरै सिक्नुपर्ने छ ।’ उनले अहिले पार्कलाई पर्यटकीय गन्तव्य बनाई दुई जनालाई रोजगारी समेत दिएको बताए ।