धुर्कोटको राष्ट्रपति रनिङ्ग शिल्डमा पाञ्चायन माविको ह्याट्रिक

हुमाकान्त पोखरेल, गुल्मी
२१ माघ । धुर्कोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्डमा वडा नम्बर ४ जैसिथोकमा रहेको पाञ्चायन माध्यमिक विद्यालयले ह्याट्रिक गरेको छ । विद्यालय शैक्षिक सत्र २०७७, ०७८ र ०७९ मा प्रथम हुदैँ ह्याट्रिक गरेको हो । यस बर्षको लागि विगत तीन दिनदेखि संचालन भएको खेलमा पाञ्चायन माविले आठ स्वर्ण र पाँच रजतसहित प्रथम हुदैँ ह्याट्रिक गरेको हो । कुल १४ प्रकारका खेल संचालन भएकोमा विद्यालयले सबै खेलमा विद्यार्थी सहभागि गराएको थियो । जसमा छात्र÷छात्रा तर्फ एक हजार पाँच सय मिटर दौड, आठ सय मिटर छात्रा दौड, छात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याब्लिङ थ्रो र छात्रा सटफुटमा स्वर्ण प्राप्त गरेको विद्यालयका खेल शिक्षक ध्रुव खनालले जानकारी दिए । विद्यालयका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले विद्यालय र विद्यार्थीको नियमित परिश्रम र विद्यार्थीलाई शिक्षकसँग नजिक राखेर दिएको प्रशिक्षणको कारण विद्यालयले ह्याट्रिक गर्न सफल भएको प्रतिक्रिया दिए । ह्याट्रिक गरेसँगै विद्यालयले सधैका लागि रनिङ्ग शिल्ड प्राप्त गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र तीन कास्य सहित वडा नम्बर ५ वस्तुको हिमालय माध्यमिक विद्यालय द्धितिय भएको छ । त्यस्तै चार स्वर्ण, चार रजत र दुई कास्य सहित वडा नम्बर ३ हाडहाडेको निन्युखर्क माध्यमिक विद्यालय तृतिय, तीन स्वर्ण, तीन रजत र चार कास्यसहित वडा नम्बर ७ वाग्लाको भगवती मावि सान्त्वना एवम् दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित वडा नम्बर ६ रजस्थलको धुर मावि पाँचौ भएको घिमिरेले बताए । प्रतियोगितामा गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा