गुल्मीमा अविवाहित महिला र पुरुषलाई भत्ता

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रम अन्तर्गत साउन महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।

अविवाहित पुरुष र महिलाहरू पनि कुनै न कुनै रूपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस नगराउनका लागि प्रतिमहिना एक हजार रुपियाँका दरले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतबाट भत्ता दिने गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।

अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि आफूहरूले यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागु हुने गरी भत्ता प्रदान गर्ने थापाले बताउनुभयो ।

पालिका भित्रका नागरिकहरूलाई एक्लो भएको भन्ने हीनताबोध नगराउन र वृद्ध वृद्धाहरूलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरूलाई पालिकाले प्राथमिकता दिएको थापाको दाबी छ ।

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविवाहित भएको प्रमाणित पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, २ प्रति फोटो, बैङ्क खाता नम्बर र चेक बुकको प्रतिलिपिसँगै आमा बाबुको नाम र मोबाइल नम्बरसहित निवेदन पेस गर्नुपर्ने छ ।

यो समाचार गाेरखापत्र दैनिकमा तिलाचन पाण्डेले लेख्नुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा