सम्झना गिरी
पुन : मुटुमा दुख्न थाल्दैछ मेरो देश
किन अस्थिर हुन लाग्दैछ मेरो देश ।।
क्रान्तीका अग्रगामी छलांग हान्दै आयो
किन पछाडी पाइला राख्दैछ मेरो देश ।।
प्रभातको लालीहरु पाखामा मधुरो छन
किन तुवालो डाक्दैछ मेरो देश ।।
सुन्दर संयम मनको समाज हो हाम्रो
किन असहिष्णुता जाग्दैछ मेरो देश ।।
नीति नियममा बाधिन नेपाली आतुर छौ
किन सु-शासनबाट टाढा भाग्दैछ मेरो देश ।।
न्यायका लागि ठुल-ठुला बलिदानी भए
किन अन्यायले सिमा नाग्दैछ मेरो देश ।।
बीर गोर्खालीको कर्मठ भूमि नेपाल
किन एक मुठि बल माग्दैछ मेरो देश ।।
भनाइ र गराईको तारतम्य मिल्नै छाड्यो
किन अदृष्य शक्तिले हाक्दैछ मेरो देश ।।